काठमाण्डु – नेपाली कांगे्रसभित्र पार्टी सञ्चालनको शैलीमाथि निरन्तर प्रश्न गर्ने नेता हुन् डा. शेखर कोइराला । उनले सत्ता गठबन्धनमा नेपाली कांग्रेसले १०० सिट नपाए पार्टीभित्र विद्रोह गर्ने चेतावनी समेत दिए । तर, पछिल्लो समय उनको बोलि एकाएक फेरिएको छ ।
मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनले केहि दिनअघि सुन्दर हरैंचा पुगेर पार्टी सभापति शेरबहादुर देउवा र आफु मिलिसकेको बताए । उनले पार्टी सभापति र आफूबीच पटक पटक भेट भएको र एकअर्काको असन्तुष्ट विषयमा सुनुवाइ भइरहेको भन्दै उनले भनेका थिए– ‘अगाडी विगतमा के भयो ती तुषलाई सबैले त्याग्नुस् । तुष मैले त त्यागिसकें, तपाईंहरुले किन नत्याग्ने ?’
हुन पनि शेखरलाई खुसी बनाउन देउवाले समानुपातिकको बन्दसूची संशोधन गरेका छन् । अर्कोतर्फ प्रत्यक्षतर्फ पनि शेखर समूहका एकाधबाहेक छुटाउनै नहुने नेताहरुले टिकट पाएका छन् । जबकी ३ असोजमा कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभाको समानुपातिक बन्दसूची एकपक्षीय थियो ।
शेखर समूहका १२–१३ जनाको मात्र नाम थियो । उनीहरुमध्ये अधिकांशको सांसद बन्ने सम्भावना थिएन । त्यसको विरोधमा खबरदारी सभादेखि पार्टी कार्यालयमा धर्नासमेत दिँदै शेखर समूहका नेताहरुले विद्रोह गर्ने चेतावनी दिएका थिए ।
१५ भदौमा संशोधित सूची पेश भयो, जसमा शेखर समूहका नेताहरुलाई पनि यथोचित स्थान दिइएको छ । मानुपातिकतर्फ कांग्रेसले प्राप्त गर्ने कुल सिटमा एक तिहाइ आफ्नो पक्षका नेताहरु पर्ने आंकलन शेखर पक्षको छ ।प्रत्यक्षतर्फ पनि कांग्रेसको भागमा परेको सिटको करिव २९ प्रतिशतमा शेखर समूहका नेताले टिकट पाएका छन् ।
प्रतिनिधिसभाको १६५ मध्ये ९० क्षेत्र कांग्रेसले पाएको छ । त्यसमध्ये २६ जना उम्मेदवार शेखर समूहका छन् । ‘हामीले ४० प्रतिशत माग गर्दै आएका हौं । न्यायोचित नभएपनि पनि चित्त बुझाएका छौं’ शेखर समूहका एक नेताले भने ।
शेखर पक्षका शीर्ष तहका सबैजसो नेताले टिकट प्राप्त गर्नु तथा विरोधको अगुवाई गर्ने नेताहरु पनि उम्मेदवार हुने अवस्थाले पार्टीभित्र विद्रोहको चेतावनी दिने शेखर कोइरालामा असन्तुष्टि सकिएको अनुमान लगाउन सकिन्छ ।
कांग्रेस नेताहरुका अनुसार शेखर पक्षका नेताहरुलाई उम्मेदवार बनाउन महामन्त्री गगन थापाले भूमिका खेलेका छन् ।केही नेताको नामलाई लिएर संस्थापन पक्ष र इतरवीच भनाभन नै भएको थियो । बर्दिया १ मा सञ्जय गौतम र काठमाण्डु ३ मा सन्तोष चालिसेलाई उम्मेदवार बनाउन महामन्त्री थापाले निकै संघर्ष गर्नुपरेको कांग्रेस स्रोतको दाबी छ ।
यद्यपी स्वर्णिम वाग्ले, मिनेन्द्र रिजाल, अमरेशकुमार सिंह लगायतले भने टिकट पाएनन् । संस्थापन पक्षका नेता नेता रमेश लेखक प्रचार गरिए जस्तो असन्तुष्ट र विद्रोह दुबै नभएको बताउँछन् । ‘कांग्रेसमा आन्तरघात र विद्रोह हुन्छ भनेर गरिएको अनुमान फेल भएको छ । सामान्य असन्तुष्टि त जहिले पनि हुन्छ तर, पार्टीभित्रको असन्तुष्टिले ठूलो असहयोग हुने देखिन्न,’ उनले भने ।




प्रतिक्रिया