काठमाण्डु – विभिन्न राजनीतिक दलका नेताहरुले वैदेशिक रोजगारीलाई चुनाव जित्ने अस्त्रका रुपमा प्रयोग गर्न थालेका छन् । पटकपटक बेरोजगार युवालाई देशभित्रै रोजगारीको अवसर छ भन्दै भाषण गर्दै आएका नेता तथा कार्यकर्ता अब वैदेशिक रोजगारीलाई चुनाव जित्ने अस्त्र बनाउन लागि परेका हुन् ।
चुनाव नजिकिएसँगै झूटा आश्वासन बाँड्नेको सूची बढ्न थालेको छ । यस्तै आश्वासन बाँड्नेमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि एक हुन् । उनले केहि दिनअघि रौतहट १ स्थित आफ्नो निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफुले चुनाव जिते विदेश जाने युवालाई फ्रि भिसा, फ्रि टिकट र फ्रि तालिमको व्यवस्था मिलाईदिने आश्वासन दिए ।
उनले भनेका थिए, ‘विना ढेउवा के भिसा मिल्ते हेँ, टिकट मिल्ते हेँ, काठमाण्डुमा तालिम मिल्ते हेँ ।’ उक्त अभिव्यक्तिपछि माधव नेपालको चौतर्फी आलोचना भइरहेको छ । साथै साे विषयलाई लिएर निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ भने माधव नेपाललाई कारबाही गर्न प्रक्रिया अघि बढाउन रौतहट प्रहरीलाई पत्र समेत काटिसकेको छ ।
त्यस्तै आफु पदमा रहँदा चुनावको संघारमा फ्री भिसा लागू गर्न नसक्ने बताएका पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले अहिले सोही विषयलाई चुनावी हतियार बनाएका छन् ।
बारा क्षेत्र ४ बाट उम्मेदवारी दिएका श्रेष्ले आफ्नो चुनावी प्रचारका क्रममा बेरोजगार युवालाई फ्री भिसा फ्री टिकटमा विदेश पठाउने भन्दै प्रलोभन देखाउन थालेका छन्। यतिबेला देशभर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल छ । ५ वर्ष अगाडि चुनाव जितेर सिंहदरबार पसेका नेताहरु अहिले गाउँघरतिर धाउन थालेका छन्।
मन्त्री रहँदा फ्री भिसा फ्री टिकट लागू गर्न सक्दिन भन्ने अभिव्यक्ति दिएका श्रेष्ठ सोही विषयलाई एजेन्डा बनाएर चुनाव जित्ने दाउमा छन्। त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणाले रोजगारीको खोजीमा रहेका युवालाई फ्री भिसा फ्री टिकटमा विदेश पठाउने अभिव्यकि्त दिइन् ।
देउवाको उम्मेदवारी दर्ता गराउन २३ असोजमा डडेलधुरा पुगेकी उनले यसअघि ४ सय नेपालीलाई फ्री भिसा फ्री टिकटमा पठाएको समेत सुनाउन भ्याइन । सरकारले २०७२ सालमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई परेको आर्थिक भार कम गर्न भन्दै ‘फ्री भिसा फ्री टिकट’ निर्णय गरेको थियो । सात वर्ष बितिसक्दा पनि श्रमिकले त्यसको फाइदा लिन पाएका छैनन् । तर, चुनाव नजिकिएसँगै फ्री भिसा फ्री टिकट नेताका चुनावी एजेण्डा भने बन्न थालेका छन्।




प्रतिक्रिया