काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरुले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छन् ।
निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दलका नेताहरुलाई हवाईजहाज वा हेलिकोप्टर प्रयोग गर्न रोक लगाएको र निर्वाचन प्रचारप्रसारको अनुमति नै नदिएको बेला सत्ता गठबनधनले सुदूरपश्चिम र कर्णाली प्रदेशका राजधानीमा चुनावी सभा गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको हो ।
आइतबारमात्रै सत्ता गठबन्धनले धानगढीमा चुनावी सभा आयोजना गरेको थियो । सो सभामा पुग्न प्रधानमन्त्री देउवासहित माओवादी अधयक्ष पुष्पम्कमल दाहाल प्रचण्ड, नेकपाका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले नेपाली सेनाको स्काई ट्रक प्रयोग गरेका थिए ।
त्यस्तै यसअघि रुपन्देहीमा भएको गठबन्धनको चुनावी भेलामा सहभागी हुन प्रधानमन्त्री देउवाले सैनिक हेलिकोप्टर प्रयोग गरेका थिए । निर्वाचन आचारसंहिता २०७९ को दफा २ (क्ष) ले सुरक्षा निकायभित्र नेपाली सेनालाई समावेश गरेको छ । दफा ८ (घ) ले कुनै राजनैतिक दल वा उम्मेदवारलाई आफ्नो वा कार्यालयको भवन, अतिथि गृह, सभागृह, सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने उल्लेख छ ।
दफा १४ ले सवारीसाधन प्रयोगमा अनुमति लिनुपर्ने विषयमा हेलिकप्टरको प्रयोग समावेश गरिएको छ । यसबाट नेपाली सेनाको हेलिकप्टरको प्रयोग गर्न दिने र प्रयोग गर्ने दुवै कार्य कसुर हो भन्ने स्पष्ट छ । तर, आयोगले निर्वाचन प्रचारप्रसारको छुट नदिए पनि गठबन्धन दलहरुले सातै प्रदेशमा खुलेआम चुनावी प्रशिक्षण दिइरहेका छन् ।
निर्वाचन आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अधिकारीले कुन प्रयोजनमा सैनिक जहाज वा हेलिकोप्टर प्रयोग भएको हो भन्ने नखुलेको बताए । यता नियमित उडान हुने ठाउँमा समेत प्रधानमन्त्रीसहितका नेता सेनाको हेलिकोप्टर र जहाज लिएर गएपछि प्रमुख विपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ ।
एमाले केन्द्रीय सदस्य रमेश बडालले गठबन्धनका शीर्ष नेताहरुले सरकारी हेलिकोप्टर दुरुपयोग गर्नु निर्वाचन कसूर तथा सजाय ऐन २०७३ विपरीतको अपराध भएको टिप्पणी गरेका छन् ।




प्रतिक्रिया