काठमाण्डु – नेकपा–एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विशाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गरेका छन् ।
वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले गठबन्धनको संयुक्त सहकार्य र अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने र संयुक्त उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
निकै ठूलो चुनौतीको सामना गरेर आफूहरु अगाडि बढेको उल्लेख गर्दै उनले संविधान र राज्यभन्दा माथि ठान्ने, पार्टीभन्दा माथि ठान्ने प्रवृत्ति तत्कालीन नेकपाको नेतृत्वमा देखा परेको र त्यसकाविरुद्ध विद्रोह गरिएको बताए ।
नेता नेपालले पार्टी र नेतामा देखापरेको अह्मका कारण जनताको चाहनामा कुठाराघात हुने अवस्था आएपछि आफूहरुले विद्रोह गरेको बताए । उनले न्याय र समानतामूलक समाज स्थापनाका लागि प्रतिगामी गठबन्धनका विरुद्ध साझा मतका साथ उभिन आग्रह गरे ।
नेपालको आफ्नो विशेषतामा आर्थिक विकास र समृद्धिको योजना लागू गर्नुपर्ने उनको भनाइ थियो । उनले कृषिमा वैज्ञानिक विधिको प्रयोग गरेर उत्पादकत्व बढाउनुपर्ने, प्राकृतिक स्रोत तथा साधनको उपयोग गर्दै देशभित्रै रोजगारी उपलब्ध गराउनुपर्ने धारणा राखे ।




प्रतिक्रिया