काठमाण्डु – रुपन्देहीको क्षेत्र नम्बर २ मा मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनले केशव बहादुर थापा मगरलाई सघाउने निर्णय गरेसँगै त्यहाँ एमाले र जनमुक्ति पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने भएको हो ।
यसअघि नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि गठबन्धनले जनमुक्तिका उम्मेदवार केशवलाई सघाउने निर्णय गरेको हो । नेकपा एमालेले विष्णु पौडललाई उम्मेदवार बनाएको छ । पौडेल यो क्षेत्रमा लगातार तीन पटक २०६४, २०७० र २०७४ को चुनाव जितेर ह्याट्रिक गरेका नेता हुन् ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा पार्टीको समर्थनमा थापाले पौडेललाई कडा टक्कर दिने भएका हुन् । गत स्थानीय निर्वाचनमा जनमुक्ति पार्टीले बुटवलमा एमालेलाई समर्थन गरेको थियो । तर, यसपटक भने एमालेसँगै मुख्य प्रतिस्पर्धा गर्ने भएको हो ।
गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा जनमुक्तिले तिलोत्तमा नगरपालिकामा कांग्रेससँग तालमेल गरेको थियो । स्थानीय तहको निर्वाचनमा रुपन्देही–२ अन्तर्गतका वडामा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यो क्षेत्रमा गठबन्धनको नेतृत्वकर्ता कांग्रेस पहिलो पार्टी बनेको थियो ।
कांग्रेसले ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२०, माओवादी केन्द्रले ३ हजार १८८, एकीकृत समाजवादीले एक हजार ३८२ र जसपाको १८३ मत देखिन्छ । राष्ट्रिय जनमुक्ति पार्टीका वडाअध्यक्ष पदका उम्मेदवारले पाएको मत दुई हजार ७० छ । यो मतमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको मत जोड्दा ४१ हजार ५९९ मत हुन्छ ।
जबकि एमाले–राप्रपा–जसपा गठबन्धनसँग ३७ हजार २९० मतमात्र देखिन्छ । बुटवल उपमहानगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ वडा पर्दछन् । यस्तै, सैनामैना नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ तथा तिलोत्तमा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ नम्बर वडा पनि यसै क्षेत्र अन्तर्गत पर्दछन् । यस क्षेत्रमा केही साना पार्टी र स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा हुनेछन् ।
को हुन् केशव ?
सत्ता गठबन्धनले समर्थन गरेका थापा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष हुन्। बुटवल उपमहानगरपालिका वार्ड ८ मा स्थायी बासिन्दा रहेका उनी पहिलोपटक संसदीय निर्वाचनमा सहभागि भएका हुन ।
२०४३ सालतिर मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी निकट प्रगतिशील विद्यार्थी युनियन हुँदै उनले राजनीतिक यात्रा सुरु गरेका थिए । केशव सूर्यवंशी समेत नामले चिनिने थापा २०४६ सालको आन्दोलनमा माक्र्सवादीबाटै आन्दोलनमा सहभागी भएका थिए ।
पछि माक्र्सवादी र माले एकीकरण बनेर एमाले बनेपछि उनी खासै राजनीतिमा सक्रिय भएनन् । ०५१ सालमा राष्ट्रिय जनमुक्तिमा आवद्ध भए भने ०५३ सालमा पार्टीको पश्चिमाञ्चल सचिव, ०५६ सालमा केन्द्रीय सदस्य भएका उनी उपमहासचिव, महासचिव हुँदै गत भदौबाट कार्यकारी अध्यक्ष भएका हुन्।
बुटवलको एक सरकारी विद्यालयमा ५ वर्षसम्म पढाएका थापाले केही वर्ष पत्रकारिता समेत गरेका थिए । बुटवलबाट प्रकाशित नयाँ राज्य सत्ता साप्ताहिक, बुद्ध सन्देश साप्ताहिक,सङ्घीय एक्सप्रेस अर्घ साप्ताहिक लगायतमा काम गरेका थिए ।
२०२७ सालमा बुटवलमा जन्मिएका थापाले १६ वर्षको उमेरमा राजनीतिमा प्रवेश गरेका हुन् । माक्र्सवादी राजनीतिबाट जनमुक्ति पार्टीमा लागेपछि २०५३ सालमा शिक्षक पेसाबाट राजीनामा दिएर पूर्णकालीन रूपमा राजनीतिमा होमिएका हुन् ।
जनमुक्ति पार्टीको २०५६ सालदेखि केन्द्रीय सदस्य भएका थापा त्यसपछि पार्टीको नेतृत्वमा कहिल्यै पछाडि फर्कनु परेर । बरु कतिपय पादहरूमा दोहोरिएरसम्म काम गर्ने अवसर पाएका छन् ।




प्रतिक्रिया