रेलको विरोध गर्नेहरू अहिले एमालेलाई पछ्याउन बाध्य भए : ओली

रेलको विरोध गर्नेहरू अहिले एमालेलाई पछ्याउन बाध्य भए : ओली

एमालेको सरकार आएपछि गुमेको भूमि फिर्ता लिन्छौ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार आएपछि गुमेको भूमि फिर्ता लिने बताएका छन् ।

बुधबार नेकपा एमाले काठमाण्डु निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चुच्चे नक्सा आइसकेकाले अब एमालेको सरकार आएपछि गुमेको भूमि फिर्ता लिने बताएका हुन् ।

उनले एमालेका उम्मेदवारले ग्यारेन्टी लिएर जनतामाझमा जान सक्ने समेत बताए। काठमाण्डु क्षेत्र नम्बर १ का उम्मेदवारको प्रशंसा गर्दै उनले भने,‘किरण, देश बनाउन सम्पूर्ण रुपमा लाग्ने एक सशक्त युवा हो। भ्रष्टाचार गर्दैन, देशको हितमा काम गर्छ, विदेशी सामु झुक्दैन।’

उनले एमालेले सार्वभौम सत्ता र स्वाधिनताको रक्षाको लागि, शान्ति स्थायित्व दिन विजयी हुनुपर्ने धारणा राखे। ओलीले गठबन्धनले सन्धि सम्झौता गलत गर्ने अनि जनता झुक्याउन व्याख्यात्मक घोषणा गरेको स्पष्ट पारे।

उनले अहिलेको सरकार परमादेशबाट निर्माण भएको बताउँदै प्रतिगामीहरुले नै अहिले एमालेलाई प्रतिगामीको आरोप लगाएको बताए। उनले निर्वाचनपश्चात पनि एमालेबाहेक अर्को राष्ट्रिय शक्ति हुन नसक्ने बताए। ओलीले एमालेबाहेक अर्को शक्तिमा आयो भने देश दुर्भाग्यतिर जाने टिप्पणी समेत गरे।

त्यस्तै ओलीले भने, हिजो रेलको विरोध गर्नेहरू अहिले एमालेलाई पछ्याउन बाध्य भएको दाबी गरे । उनले भने, ‘परराष्ट्रमन्त्री चाइना गएर रसुवा–काठमाडौं रेलको डिटेल सर्भेका लागि सम्झौता गरेर आउनुभयो । त्यो हाम्रो योजना हो । चाहिँदो रहेछ त । हामीलाई पछ्याउनुभयो त । रेलको कुरा गर्दा मजाकमा उडाउनेहरू अहिले आफ्नो घोषणापत्रमा रेलको थुतुनो नदेखाई बेच्न नसक्ने भए ।’