द्वन्द्वपीडितलाई भेदभाव नगरी समान व्यवहार गरिन्छ : प्रचण्ड

द्वन्द्वपीडितलाई भेदभाव नगरी समान व्यवहार गरिन्छ : प्रचण्ड

शान्ति सम्झौतालाई पूर्णता दिने यो अन्तिम अवसर हाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतालाई पूर्णता दिने यो अन्तिम अवसर भएको बताएका छन् ।

शुक्रबार गोरखाको सिरानचोक-८ जौबारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखाले जनयुद्ध र शान्ति सम्झौताको नेतृत्व गरेको उल्लेख गर्दै अब विकास र समृद्धिको पनि नेतृत्व गर्ने बताएका हुन् ।

‘गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर सुरु गरेको यो व्यवस्थालाई पनि र शान्तिलाई पनि अन्तिम अन्तिम टुंगो लगाउने अवसर यो हो,’ प्रचण्डले भने, ‘सबै पीडितहरूलाई परिपूरण भनेको आर्थिक सहयोग दिने, परिवारको भरणपोषण, रोजगारी, शिक्षा दिक्षा दिने उनीहरूका नाममा विभिन्न स्थानमा स्तम्भहरू राज्यले नै बनाइदिने पार्कहरू राज्यले नै बनाउने भन्ने नीति पास भइसकेको छ । तपाईंहरूको पूरा सहयोग भयो भने यो कुरा फत्ते गर्न पनि ठूलो शक्ति प्राप्त हुन्छ ।’

द्वन्द्वपीडितहरूलाई भेदभाव नगरी समान व्यवहार गरिने प्रचण्डको भनाइ थियो । नेपाली कांग्रेससँग आफूहरूको राम्रो समझदारी बनिरहेको उनले बताए । गोरखाका जनताले हृदयदेखि नै आफूलाई दिल खोलेर स्वागत गरेको भन्दै प्रचण्डले धन्यवाद दिए । मंसिर ४ को निर्वाचन संविधान रक्षा गर्ने र संविधान नमान्नेहरूबीचको जनमत संग्रह जस्तै भएको प्रचण्डले बताए ।

प्रचण्डले चुनावी सभाहरूमा स्थानीय मुद्दालाई पनि प्राथमिकताका साथ उठान गर्दै आएका छन्। उनले कच्ची सडक कालोपत्र गर्ने प्रतिबद्धता पनि जनाएका छन्।