डडेल्धुरामा देउवा युगको समाप्ति होला ?

डडेल्धुरामा देउवा युगको समाप्ति होला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टक  खाती, काठमाण्डु- संघ र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारमा विभिन्न राजनीतिक दलहरु होमिएका छन् । संघीय निर्वाचनको मिति नजिकिएसँगै सानादेखि ठुला राजनीतिक दल चुनावी प्रचारप्रसारमा होमिएका हुन् ।

जसअनुसार डडेल्धुरामा पनि मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनको चहलपहल बढेको छ । डडेल्धुरामा संघीय निर्वाचनलाई चासोका साथ हेरिने गरिन्छ । डडेल्धुराबाट निरन्तर चुनाव जितेर पाँच पटक प्रधानमन्त्री बन्न सफल भएका नेपाली कांग्रेसका शेरबहादुर देउवाको गृह जिल्लासमेत भएकाले पनि डडेल्धुराबाट को जित्ला भन्ने आम नागरिकको चासोको विषय बन्ने गरेको हो ।

यस वर्षपनि यहाँको निर्वाचन सबैको रोचकको विषय बनेको छ । यस वर्ष डडेल्धुरामा संघ र प्रदेशसभाको निर्वाचन रोचक बन्नुको कारण, वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग तिन पटक चुनाव हारेका नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले उनकै लागि भोट माग्नु पनि हो ।

सुदूरपश्चिम माओवादी केन्द्रका इन्चार्जसमेत रहेका भट्टलाई सत्ता गठबन्धनले डडेल्धुराको क्षेत्र न. (क) बाट प्रदेशसभाको लागि उम्मेदवार बनाएको छ । उनलाई उम्मेदवार मात्र होइन देउवाले चुनाव जिते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासनसमेत दिएका छन् । त्यसकारण पनि भट्ट देउवाको लागि भोट माग्दै हिडिँरहेका छन् ।

त्यसैले डडेल्धुरामा कसले जित्ला भन्ने आम चासोको विषय बनेको छ । यसअघि ६ पटक चुनाव लडिसकेका देउवाले आजपर्यन्त पराजय भोग्नुपरेको छैन। २०४८ देखि निरन्तर चुनावी लडिरहेकारजितिरहेका देउवा पाँच पटक मुलुकको प्रधानमन्त्री र दुई पटक कांग्रेस सभापति बनिसकेका छन्।

सातौं पटक चुनावी मैदानमा उत्रिएका देउवाले यसवर्ष जित्लान की उनको युगको समाप्ति होला? भन्ने प्रश्न पछिल्लो समय खडा भएको छ । तर, यसवर्ष पनि देउवा डडेल्धुराबाट देउवा सातौं पटक निर्वाचित हुने सम्भावना धेरै देखिन्छ । यसअघिका ६ वटा चुनावमा भन्दा यस पटकको जित सहज हुने विश्लेषण धेरैको छ । जसको कारण हो स्थिानीय तहको नतिजा र २०७४ सालमा नेकपा एमालेसँग मिलेको नेकपा माओवादीले अहिले देउवाको लागि भोट मागि रहेको छ ।

२०७४ सालमा माओवादी र एमाले मिल्दा पनि देउवाले जित हात पारेका थिए भने यस वर्ष त उनलाई माओवादीको समर्थन छ । यसभन्दा अघि तिन पटक देउवकोविरुद्धमा चुनाव लडेका खगराज भट्ट डडेल्धुराबाट देउवाको जित भइसकेको बताउँछन् । भट्टले देउवाको जित भइसकेको अब घोषणा गर्न मात्रै बाँकी रहेको दावी गरे ।

‘ अब देउवाको त विजय भइसकेको छ । घोषणा गर्नमात्र बाँकी हो । उहाँ असाधारण हिसावले जित्नुहुन्छ । नेपालको इतिहासमा सवैभन्दा ठुलो मतान्तरले जित्नुहुन्छ । हामी गठबन्धनका उम्मेदवार पनि सानदारका हिसाबले जित्छौँ ।’, भट्टले काठमाण्डुपाटीको कुराकानीमा भने ।

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनको नतिजा हेर्दा पनि डडेल्धुराबाट देउवाको जित निश्चित नै छ । डडेल्धुरामा दुई नगरपालिकासहित पाँच वटा गाउँपालिका छन् । जसमध्ये स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले पाँच वटा पालिकामा जित निकाल्दै डडेल्धुरामा पहिलो दल बन्न सफल भएको छ ।

यता नेकपा माओवादी केन्द्रले दुई पालिकामा जित निकाल्दा नेकपा एमालेले भने एक पालिकामा पनि जित निकाल्न सकेन । नेपाली कांग्रेस छाडेका कर्ण मल्लले स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल गरेका थिए ।

कर्ण मल्लले नेकपा एमालेसँग चुनावी तालेमल गरेपछि डडेल्धुरामा स्थानीय तहको चुनावलाई चासोका साथ हेरिएको थियो । मल्लले नेकपा एमालेसँग चुनावी तालमेल गरेसँगै डडेल्धुरामा कांग्रेस कमजोर बेनेको आँकलनसमेत गरियो ।

तर, नेपाली कांग्रेसले भने स्थानीय तहको निर्वाचन अन्तर्गत डडेल्धुरामा आफ्नो शक्ति प्रर्दशन गरेको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो शक्ति प्रर्दशन गर्दै डडेल्धुरामा झनै बलियो भएको पुष्टि गरेको छ ।

जसअनुसार अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । त्यस्तै नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी हुन सफल भयो ।

त्यस्तै गन्यापधुरा गाउँपालिकामा पनि नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अत्यधिक बहुमतले निर्वाचित भएका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । त्यस्तै परशुराम नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका भरत बडायर जोशी निर्वाचित भए भने उपप्रमुखमा माओवादी विजयी भएको छ ।

यता अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भयो। त्यसैगरी आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अब देउवालाई नेकपा माओवादी केन्द्रले साथ दिएपछि सात वटै पालिकामा स्थानीय तहको निर्वाचनमा खसेको मत देउवाले पाउने देखिन्छ ।

त्यस कारण स्थानीय तहको निर्वाचनको मत हेर्दा डडेल्धुराबाट देउवाको जित पक्का छ । यता देउवालाई हराउन गुल्मीका सागर ढकाल डडेल्धुराबाट चुनावी मैदानमा होमिएका छन् । प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार ढकालले केही भोट काटे पनि चुनावसँग कुनै पनि हालतमा चुनाव नजित्ने त्यहाँका स्थानीयहरुको दावी छ । तर, पछिल्लो समय सामाजीक सञ्जालमा भने ढकालको पक्षमा बढी टिकाटिप्पणी भइरहेका छन् ।