काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताएका छन् ।
चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहनुभएका उनले पालुङटार नगरपालिकामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हसियाँ हथौडा र हसियाँ हथौडाले रुखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताएका हुन् ।
कांग्रेस र माओवादी मिलेर गणतन्त्र र सविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि दुबै दल मिलेर नै गर्न सहज हुने उनको भनाइ छ । “राजनीतिक परिवर्तन भयो, तर जनताले अनुभुति गर्ने गरी आर्थिक समृद्धि हुनसकेन”, उनले भने, “अब राजनीतिक परिवर्तनको रक्षा र आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ भन्ने हामी गठबन्धनका नेताले गहनरुपले अनुभूति गरिसकेका छौँ ।”
अध्यक्ष दाहालले लामो समयदेखि बन्द रहेको पालुङटार एयरपोर्ट भिन्नरूपमा सञ्चालन गर्ने आफ्नो योजना रहेकोसमेत बताएका छन् ।




प्रतिक्रिया