काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका नेता प्रेम आलेले छाडा बोलेर देशकै बेइज्जत गरेको बताएका छन् ।
शनिबार डोटीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै विगतमा आफूले टिकट दिएर जिताएको व्यक्तिले छाडा बोलेर डोटीको मात्र नभइ देशकै बेइज्जत गरेको दावी गरेका हुन् ।
अब देशको बेइज्जत गर्नेलाई जिताएर गल्ति नगर्न ओलीले आग्रह गरेका छन् । उनले डोटी कांग्रेसका नेतालाई कैलाली झारेर अश्लील बोल्ने व्यक्तिलाई उम्मेदवार बनाएकाले यसपटक त्यहाँका स्थानीयलाई बिचार गर्न सुझाव दिए ।
‘मैले सही गरेर उम्मेदवारी दिएको व्यक्तिले डोटीको मात्रै बेइज्जत होइन सिङ्गै डोट्याली भाषा,सभ्यता र संस्कृतिको बेइज्जत गरे । सिङ्गै नेपाली जातिको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरे ।
मन्त्रीको भाषा हेर्नुभयो ? यस्तो मान्छे यसपटक फेरि खपडाहरू जोडेको पार्टीबाट उम्मेदवार बनेको सुनियो । त्यस्ता विश्वासघाती,पार्टीको माया नगर्ने, विकासको मतलब नभएको र सूर्य चिन्हमा तपाईँहरूले दिएको मत बेच्नेलाई जमानत जफत गराउनुस् ।’, अध्यक्ष ओलीले भने ।
त्यस्तै नेपाली कांग्रेसतिर संकेत गर्दै उनले एमालेले नेपाली राष्ट्रिय स्वाभिमानका विषयमा नेतृत्व गरेको बताउँदै भने,‘चुच्चे नक्सा पास गराउनका लागि मैले गरेको प्रस्तावलाई पारित गर्न सबै आउन बाध्य भए।’
नाकाबन्दीको सामना आफूले मात्र नभएर नेपाली जनताले गरेको बताएका उनले देशको समृद्धि र राष्ट्रहितका निम्ति एमालेलाई जिताउन आवश्यक रहेको बताएका छन् ।




प्रतिक्रिया