काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भौतिक तथा पूर्वाधार मन्त्री बन्ने भएका छन् । उनले उपप्रधानमन्त्रीसहित भौतिकमन्त्रीको जिम्मेवारी लिने भएका हुन् ।
सुरुमा अर्थमन्त्रालय आफुलाई दिनुपर्ने अडान लिएका श्रेष्ठले एमालेका भागमा अर्थ परेपछि गृहमा अडान लिएका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृहमन्त्रालयमा आफुले पाउनुपर्ने अडान लिएपछि श्रेष्ठलाई प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्र मन्त्रालयमा जान भनेका थिए ।
दाहालले उनलाई परराष्ट्रमा जान भनेपनि अन्तिममा उनले भौतिक तथा पूर्वाधार तथा मन्त्रालय पाउनुपर्ने अडान राखेपछि उनको जिम्मेवारी फेरिएको हो ।
‘नारायणकाजी श्रेष्ठले यसपटक जसरी पनि मालदार मन्त्रालय लिन खोजेका छन् । काम गर्नकै लागि त जुन मन्त्रालय लिएपनि भयो । तर, उहांले मालदार मन्त्रालयमै जोड दिनुभएको छ ।’ माओवादी केन्द्रका एक नेताले भने ।
माओवादी नेता श्रेष्ठको कोटाबाट यसअघि माओवादीमा नेता गिरीराजमणी पोखरेलले स्वास्थ्य वा शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएपनि उनि यस पटक चुनावमा पराजित भएका थिए । श्रेष्ठले यसअघि छोटो समय गृह,स्थानिय र बावुराम भट्टराई प्रधानमन्त्री हुंदा परराष्ट्रमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
नेकपा विभाजनको बेला मुख्य भुमिका खेलेका श्रेष्ठ पछिल्लो समय एमालेसंग सहकार्य गर्नुपर्ने लाइनमा थिए । उनले अध्यक्ष दाहाललाई नै कांग्रेससंग भन्दा एमालेसंगै मिल्नुपर्ने दबाव समेत दिएका थिए ।




प्रतिक्रिया