भाइटीका लगत्तै काठमाडौं उपत्यकामा असिनासहित वर्षा

भाइटीका लगत्तै काठमाडौं उपत्यकामा असिनासहित वर्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भाइटीकाको दिन बुधबार दिउँसो मौसममा आएको अचानक परिवर्तनसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा असिनासहित वर्षा भएको छ।

दिउँसो करिब साढे १ बजेदेखि काठमाडौं, ललितपुर र भक्तपुरका क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा असिना परेको हो।

अचानक परेको असिनापानीले टीका लगाउन आफन्तका घरतर्फ हिँडेका र चाडपर्व मनाइरहेका सर्वसाधारणलाई केही समय असहज बनाएको छ। वर्षाका कारण बाहिर रहेका मानिसहरू ओत लाग्नुपरेको थियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

दिउँसो सक्रिय भएको मौसमी प्रणालीका कारण राति हिमाली भूभागमा आंशिक बदली रहने र कोशी, बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।

बिहीबार बिहान यात्रा गर्नेहरूलाई पनि सतर्क रहन आग्रह गरिएको छ। तराई, उपत्यका र खोँचका केही स्थानमा हुस्सु वा कुहिरो लाग्न सक्ने भएकाले बिहानको यात्रामा दृश्यता कम हुन सक्ने अनुमान छ।