मधेसका मुख्यमन्त्री यादवले यही शनिबार विश्वासको मत लिने

मधेसका मुख्यमन्त्री यादवले यही शनिबार विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते शनिबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।

प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ः०० बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवले बताए । विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्न लागिएको मुख्यमन्त्री यादवले बताए।

विश्वास प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद जारी रहेको र विश्वासको लिनु अघिसम्म संवाद जारी राख्ने मुख्यमन्त्री यादवले बताएका छन्।

नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गत असोज २५ गते सामुहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

यस्तै सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सत्तारुढ दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढाएका छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।