निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक बस्दै,शीर्ष नेताले सम्बोधन गर्ने

निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक बस्दै,शीर्ष नेताले सम्बोधन गर्ने

File Photo

काठमाण्डु – प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन सोमबारदेखि सुरू हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक अलग अलग सञ्चालन हुनेछन् ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो अधिवेशन र राष्ट्रिय सभाको नियमित १३ औं अधिवेशन सुरु हुनेछ ।

दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।

यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइनेछ । प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेताले शुभकामना मन्तव्य दिनेछन् । बैठकको प्रारम्भमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सदस्यलाई स्वागत गर्नेछन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि प्रतिनिधि सभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदका प्रतिनिधित्व रहेको छ ।

प्रतिनिधि सभामा नेपाली कांग्रेस ८९, नेकपा (एमाले)का ७८, नेकपा .(माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी)का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र पाँच सांसद् छन् ।

प्रतिनिधि सभा बैठक हाल कायम प्रतिनिधि सभा नियमावली, २०७५ अनुसार सञ्चालन हुनेछ । बैठकले नियमावली, २०७५ लाई अनुमोदनसमेत गर्नेछ ।

बैठकबाट ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि नियमावलीअनुसार सात जनालाई चयन गरिनेछ ।बैठक दिउँसो १ बजेका लागि डाँकिएको छ ।