सत्ता गठबन्धनबाट एमालेका घिमिरे सभामुखका उम्मेदवार, कांग्रेसबाट को ?

सत्ता गठबन्धनबाट एमालेका घिमिरे सभामुखका उम्मेदवार, कांग्रेसबाट को ?


काठमाण्डु- एमालेले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार एमालेको बैठकले झापा २ बाट विजयी घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनमा सभामुख एमालेको भागमा परेको छ । घिमिरे एमाले प्रदेश १ का इन्चार्जसमेत हुन् । यसअघि एमालेमा सभामुखका लागि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईको नाम चर्चामा थियो । तर एमाले अध्यक्ष केपी ओलीले आफ्ना विश्वास पात्र घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय लिएका हुन् ।

संसद् सचिवालयले बुधबार १ देखि ४ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेसले भने अहिलेसम्म उम्मेदवारी दिने कि नदिने भन्ने निर्णय गरेको छैन । सभामुखको निर्वाचनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । बैठकले पार्टीकै उम्मेदवार बनाउने कि एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय गर्नेछ । कांग्रेसमा विमलेन्द्र निधि र अर्जुननरसिंह केसी सभामुखको उम्मेदवारका आकांक्षी छन् ।

बिहीबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उम्मेदवारको प्रस्तावकले सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्नुपर्नेछ । त्यसपछि उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुनेछ । छलफलपछि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दर्ता क्रमानुसार प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । एउटा मात्रै मनोनयन परेमा निर्विरोध तथा दुई वा दुईभन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा हुने अवस्थामा हरेक सदस्यको मतविभाजनबाट निर्णय लिइन्छ पक्ष, विपक्ष र तटस्थ गरी तीनवटा विकल्प दिएर छुट्टाछुट्टै लबीमा सांसदहरूले दस्तखत गरेर आफ्नो मत राख्छन् ।

सभामुखको निर्वाचन सकिएपछि प्रतिनिधिसभाले उपसभामुखको निर्वाचन मिति तोक्छ । बिहीबार सभामुख निर्वाचित गरेर सोही दिन शनिबारलाई उपसभामुखको निर्वाचन मिति तोक्ने तयारी प्रतिनिधिसभाको छ । शुक्रबार उपसभामुखको मनोनयन दर्ता र शनिबार निर्वाचन गर्ने तयारी रहेको संसद् सचिवालयका अधिकारी बताउँछन् ।