रवि लामिछाने आज नागरिकता लिन जिल्ला प्रशासन जाँदै

रवि लामिछाने आज नागरिकता लिन जिल्ला प्रशासन जाँदै


काठमाण्डु – रवि लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिने तयारी गरेका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नेपाली नागरिकता लिने प्रक्रिया सुरु गर्न लागेका हुन् । लामिछाने नागरिकता लिने प्रयोजनका लागि ११ बजे प्रशासन कार्यालयमा जाने बताइएको छ।

सर्वोच्च अदालतले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद शुक्रबार खारेज गरेको थियो। नेपाली नागरिक नै नभएपछि लामिछानेले उपप्रधान एवम् गृहमन्त्री र रास्वपाको पार्टी सभापति पद पनि गुमाएका थिए। योसँगै चितवन– २ मा अब उपनिर्वाचन गर्नुपर्नेछ।

नेपालको नागरिकता ऐन, २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रष्ट कानुनी व्यवस्था छ।