फेरि गृहमन्त्री बन्ने रवि लामिछानेको तयारी, उनको मिसन यसरी रोकिन सक्छ !

फेरि गृहमन्त्री बन्ने रवि लामिछानेको तयारी, उनको मिसन यसरी रोकिन सक्छ !


काठमाण्डु- रवि लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् ।

सर्वोच्चले नेपाली नागरिकता पुनप्राप्ति प्रक्रिया अपनाउनुपर्ने फैसला गरेसँगै निवर्तमान उपप्रधान तथा गृहमन्त्री लामिछानेले नेपाली नागरिकता पुनप्र्राप्ति प्रक्रियामा जाने तयारी गरेका हुन् ।

सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गएको थियो । उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनप्राप्ति प्रक्रियामा गएका थिएनन् र पुरानै नेपाली नागरिकता प्रयोग गर्दै आइरहेका थिए ।

सर्वोच्च अदालतको फैसलासँगै नागरिकता पुन प्राप्ति र त्यसलगत्तै पुनः गृहमन्त्रीमा बन्ने रविको तयारी छ । नेपालको संविधानअनुसार कुनै पनि व्यक्ति मन्त्री हुनसक्ने र त्यसरी मन्त्री नियुक्त हुने व्यक्ति ६ महिनाभित्र प्रतिनिधिसभा सदस्य बन्नुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार रवि पुनः गृहमन्त्री नियुक्त हुने र ६ महिनाभित्र चितवन–२ मा हुने उपनिर्वाचनबाट सहजै जितेर सांसद भएर आउने दावी उनी निकटको छ । तर, त्यसअघि अन्य कसुरमा उनीमाथि कारबाही नभएको अवस्थामा मात्रै उपनिर्वाचनमा उम्मेदवार हुन पाउने जनाइएको छ। अन्य कसुरमा उनीमाथि मुद्दा चलेर कारबाही अगाडि बढेको अवस्थामा भने उनको त्यो अवसर पनि गुम्ने देखिएको हो ।

लामिछानेले दोहोरो नागरिकता लिएको, पासपोर्ट लगायतका विषयमा भने अझै पनि छानबिन हुने देखिएको छ । सर्वोच्च अदालको फैसलाले अब ती कसुरमा पनि छानबिन गर्न बाटो खुला गरेको हो । यससँगै चितवन २ मा हुने उपनिर्वाचनमा उनले भाग लिन पाउने सम्भावना पनि कम देखिएको छ ।