काठमाडौं– २०३७ मंसिर २७ गतेमा सहायक सेनानी दर्जाबाट नेपाली सेनामा प्रवेश गरेका पूर्णचन्द्र थापाले आइतबार नेतृत्व सम्हालेका छन्।
एक महिना अघि कायममुुकायम प्रधानसेनापति बनेका उनलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरिन्। थापा नेपाली सेनाको ४३ औँ प्रधानसेनापति बन्न सफल भएका हुन्।
२०७५ भदौ ३ गते बसेको मन्त्रिपरिषद् वैठकले कायममुुकायम प्रधानसेनापति थापालाई महारथीमा बढुुवा गरी प्रधानसेनापतिमा नियुुक्तिको सिफारिसको निर्णय गरेको थियाे।
थापाले सैनिक परम्परा अनुसार नवनियुक्त प्रधानसेनापतिलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरे पश्चात प्रधानसेनापतिको कार्यभार सम्हालेका छन्।
नवनियुक्त प्रधानसेनापति थापाले आइतबार नै सैनिक मञ्च टुडिखेल र वीर स्मारक छाउनीमा माल्यार्पण (रिद लेइङ्ग) गरी सकलदर्जाहरुलाई सभामण्डपमा सम्बोधन गरे।
शान्ति स्थापना कार्यमा सिरियास्थित संयुुक्त राष्ट्रसंघको मिसन प्रमुुख तथा फोर्स कमाण्डरको जिम्मेवारी सम्हालिसकेका थापाले स्वदेशमा पनि गुुल्म, गण, बाहिनी, पृतना जस्ता नेपाली सेनाका महत्वपूर्ण जिम्मेवारीहरुको कमाण्ड गरिसकेका छन्।
थापा ४३औं प्रधानसेनापति बन्दा उनीसामु चुनौतीका चाङ छन्।
नेपाल साम्प्रादायिक भावना फैलाउन खोज्ने जातीय, भाषिक, धार्मिक, क्षेत्रीय एजेन्डा बोकेका विखण्डनकारीहरु तथा अपराधिक तत्वहरु सलबलाउन थालेको विश्लेषण नेपाली सेनाले गर्दै आएको छ।
तराईमा सिके रावत तथा पछिल्लो पटक नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँगै अन्य समूहलाई सेनाले चुनौतीको रुपमा लिँदै आएको छ। भने बेलाबेला सरकारलाई बिफ्रिङ पनि गर्दै आएको छ।
जसलाई पुष्टि गर्दै तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले २३ साउनमा भनेका थिए, ‘ साम्प्रादायिक भावना फैलाउन खोज्ने विखण्डनकारीहरु तथा अपराधिक तत्वहरु सलबलाउन थालेको छन् ।’ उनले विध्वंशकारी घटनाहरु घटाएर कुनै न कुनै बाहनामा द्वन्द्वको निरन्तरता चाहने तत्वहरु सक्रिय हुन थालेको र यसले सुरक्षामा जटिलता थपेको छ।’ क्षत्रीको यो मन्तव्य अवकाश पाउन अघि एक महिना विदामा बस्नु एक दिन अघिको हो।
यद्यपी, नेपाली सेनाको नेतृत्वमा जो कोही आउँछन् कुनै पनि आवरणमा हुने अबाञ्छित तथा अराजक गतिविधिलाई निस्तेज पार्न सेनाले कुनै कसर बाँकी नराख्ने बताउँछन्।
प्रधानसेनापति थापाको अर्काे चुनौती हो–नेपाली सेनाको छविलाई स्वच्छ बनाउनु। पछिल्लो समय नेपाली सेना ब्यापारमुखी बनिरहेको भन्दै सर्वत्र विरोध भइरहेको छ।
नाफामुलक व्यापार व्यवसायमा सक्रिय बन्दै गएको आरोप खेपिरहेको सेनाले कल्याणकारी कोषम रकम व्यापारी प्रयोजनमा विस्तार गर्न लागेको हो ।
राष्ट्रिय सुरक्षाको प्रमुख अंग सेनाले सैनिक कल्याणकारी कार्यक्रमअन्र्तगत जगा प्लटिङ/हाउजिङ निर्माण, सपिङ कम्प्लेक्स, इन्धनको ढुवनी आपुर्ति तथा विक्रीवितरण जलविधुत आयोजनामा कर्जा प्रवाह तयारी पोशाक उत्पादनमा कर्जा प्रवाह तयारी पोशाक उतपादनलगायतमा लगानी विस्तार गर्न थालेको छ।
कोषसँग चलअचल गरी ४१ अर्ब २९ करोड ८२ लाख ४६ हजार रुपैयाँको सम्पत्ति छ ।
कामुुसेनापति छँदा नै थापाले भाडामा लगाएर पैसा असुल्दै आएको ‘आर्मी अफिसर्स क्लब’ बन्द गराएका थिए। भद्राकालीमा रहेको सैनिक मुख्यालयको परिसरमै रहेको आर्मी अफिसर्स क्लब १८ वर्षयता विभिन्न पार्टी तथा कार्यक्रमहरु आयोजनाका लागि सर्वसाधारणलाई पनि भाडामा दिइँदै आएको थियो ।
तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शमशेर जबराको कार्यकालदेखि आर्मी अफिसर्स क्लब सर्वसाधारणलाई पनि भाडामा दिन थालिएको थियो ।
सेनाले सर्वसाधारणलाई एउटा हल भाडामा दिएबापत एक दिनको ७५ हजार रुपैयाँ शुल्क लिँदै आएको थियो ।
प्रधानसेनापति थापा अब राजनीतिक नेतृत्वको स्वार्थप्रति कत्तिको टिक्छन्। र, नेपाली सेनाले गर्दै आएको व्यापारलाई कसरी रोक्छन् भनेर हेर्न बाँकी रहेको नेपाली सेनाका पूूर्वअधिकारीहरु बताउँछन्।
थापाले कायममुकायम छँदा नै नेपाली सेनाका सबै कार्यलय तथा विभागहरुको सम्बन्धित ठाउँमै गएर विफ्रीङ अध्ययन गर्न थालेका थिए। जसलाई सेनामा नयाँ संस्कारको सुरुवातको रुपमा हेरिएको थियो ।
नेपाली सेनामा अत्यन्तै अनुशासित, भद्र, अध्ययनशील र अनुभवी जर्नेलका रुपमा परिचित कामु सेनापति थापाको सुरुवाती कार्यशैलीले नेपाली सेनाका अधिकृतहरु उत्साहित बनेका छन् । उनी सहभागी भएका विफ्रीङहरुमासम्बन्धित कार्यलयका समस्याहरुका बारेमा खुलस्त रुपमा छलफल भएको सैनिक स्रोत बताउंछ ।
कामुमा नियुक्त भएलगत्तै अध्ययन थालेका थापाले हालसम्म महत्वपूर्ण कार्यलयहरु मानिएका स्वास्थ्य महानिर्देशनालय, कल्याणकारी निर्देशनालय, सम्भारको कार्यालय, प्रवन्ध कार्यालय, सैनिक जनसम्पर्क निर्देशनालय, प्राड विभाग, सैनिक हवाई उड्यन कार्यालय, मनोवैज्ञानिक कार्यालय, इन्जिनियर निर्देशनालय, प्रकृति संरक्षण निर्देशनालय, विकास निर्माण निर्देशनालय लगायतको विफ्रीङ अध्ययन गरिसकेका थिए।
यसैगरी, उनले यसअघि नै भावी योजना, सुझावहरु तथा आवश्यक निर्देशनहरुका बारेमा समेत योजना माग गरिसकेका छन्।




प्रतिक्रिया