रविलाई पुनः गृहमन्त्री बनाउन ओलीको साथ, गृहमन्त्रालय माओवादीलाई दिने प्रचण्डको रणनीति

रविलाई पुनः गृहमन्त्री बनाउन ओलीको साथ, गृहमन्त्रालय माओवादीलाई दिने प्रचण्डको रणनीति


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको गृहमन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री प्रचण्डले सम्हालि रहेका छन् । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछाने पदमुक्त भएसँगै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालयको जिम्मेवारी आफैले सम्हालि रहेका हुन् ।

नागरिकताका विषयमा शुक्रबार सर्वोच्च अदालतले फैसला सुनाएसँगै रवि सांसद् तथा उपप्रधान एवम् गृहमन्त्रीको पद गुमाएका थिए । आइतबार नेपाली नागरिकता पुनः प्राप्त गरेका रविलाई रास्वपाले पार्टी सभापति धोषणा गर्यो । त्यसलगत्तै सभापति लामिछाने प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे ।

 प्रचण्डसँगको भेटमा उनले आफू पुनः गृहमन्त्री बन्ने प्रस्ताव राखेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले भने नागरिकताबारे विवाद नटुंगिएसम्म गृहमन्त्रीमा नियुक्त गर्न नसकिने जवाफ दिए । सत्ता गठबन्धनभित्र भागबन्डा गर्दा गृहमन्त्रालय रास्वपाको भागमा परेको थियो । त्यसकारण गृहमन्त्रालय फेरि आफूले नपाए सरकारबाट बाहिरिने रास्वपाले निर्णय गरिसकेको छ ।

तर, रविसँगको भेटमा पुनः रास्वपालाई गृहमन्त्रालयको जिम्मेवारी दिन प्रचण्ड सकरात्मक भएनन्।  गैरसांसदको रूपमा ६ महिनासम्म गृहमन्त्री बनाउन रविले प्रचण्डलाई आग्रह गरेपनि उनले चासो नदेखाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले गृहमन्त्रालय आफ्नो पार्टीलाई दिने मनशाय गरिरहेका छन् ।

आइतबार साँझ नै प्रचण्डलाई भेट्नुअघि रविले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । अध्यक्ष ओली भने उनलाई पुनः गृहमन्त्री बनाउनुपर्नेमा सकरात्मक छन् । ओलीसँग पनि रविले आफूलाई गैरसांसदको रुपमा गृहमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका थिए । रविको प्रस्तावमा अध्यक्ष ओली सहमत भएपनि प्रचण्डले भने उनलाई गृहमन्त्री नबनाउने मनशाय राखेका छन् ।