काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर सर्वोच्च अदालतले गरेपछि रवि लामिछानेको संसद पद गुमाएका थिए ।
आइतबार रविले नेपाली नागरिकता पुनः प्राप्त गरिसकेका छन् । त्यसकारण आजको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डसँग लामिछानेले पुनः आफू गृहमन्त्री हुनुपर्ने माग राखेका छन् । तर, प्रचण्ड गृहमन्त्री आफैँसँग राख्न चाहन्छन् । आइतबार साँझ पनि रविले प्रचण्डसँग आफूलाई पुनः गृहमन्त्री बनाउन आग्रह गरेका थिए ।
प्रचण्डले नागरिकताबारे विवाद समाधान नभएसम्म गृहमन्त्रालय दिन नसकिने अडान राखेका छन् । यता नेकपा माओवादी केन्द्रका नेताहरुले पनि प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नदिन दबाब दिइरहेका छन् ।




प्रतिक्रिया