काठमाण्डु-सत्ता गठबन्धनभित्र पछिल्लो समय खटपट सुरु भएको छ । एक महिनामै सत्ता गठबन्धन दलभित्र खटपट सुरु भएको हो । पुस १० गते गठबन्धन दलहरुबीच भएको सहमतिबाट प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछि हटेका छन् ।
जसअनुसार गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको थियो । सर्वोच्चको फैसलासँगै गृहमन्त्रीबाट रास्वपाका रवि लामिछानेले राजीनामा दिएपछि पुनः रास्वपालाई गृहमन्त्रालयको जिम्मेवारी दिन आनाकानी गरिरहेका छन् ।
नेकपा माओवादी केन्द्रका नेताहरुले गृहमन्त्रालय अन्य पार्टीलाई नदिन प्रचण्डलाई दवाव दिइरहेका छन् । प्रचण्ड पनि गृहमन्त्रालयको जिम्मेवारी आफ्नो पार्टीलाई दिने दाउमा राखेका छन् ।
यसैबीच रवि आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटारमा भएको भेटवार्तामा रविले गृहमन्त्रालय आफ्नो पार्टीले नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । तर, प्रचण्डले भने गृहमन्त्रालय दिन नसकिने अडान राखेका छन् । यता नेकपा एमालेले भने पहिलाको सहमति अनुसार गृहको जिम्मेवारी रास्वपालाई नै दिनुपर्ने बताएको छ ।
त्यस्तै पुस १० गते प्रधानमन्त्री प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो । त्यसबेला माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसबाट अलग्गिएर एमाले कित्तामा पुगेपछि प्रधानमन्त्री र सभामुखमा आलोपालो नेतृत्व गर्ने तथा राष्ट्रपति एमालेले लिने सहमति भएको हो ।
त्यस बमोजिम माओवादीले प्रधानमन्त्री र एमालेले सभामुख पाइसकेका छन् । तर, राष्ट्रपतिको विषयमा भने प्रचण्डले आनाकानी गरिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने प्रचण्डको अडान छ । तर, एमालेले भने पहिलाको सहमति अनुसार नेकपा एमालेको उम्मेदवारमा सहमत हुनुपर्ने बताएको छ । प्रचण्डले सहमतिबाट पछि हटेर धोका दिन खोजेको एमाले नेताहरुको बुझाइ छ ।
अध्यक्ष ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवार उठाउने घोषणा गरिसकेका छन् । यता माओवादीका नेताहरुले भने प्रण्डलाई राष्ट्रपति र सभामुख पद एउटै पार्टीलाई नदिनु पर्ने माग राखेका छन् । त्यसकारण प्रचण्ड पनि पुस १० गतेको सहमतिबाट पछि हटेका हुन् । प्रचण्डले पुस १० गतेको सहमति कार्यान्वयन गर्न आनाकानी गरेसँगै सत्ता गठबन्धन भत्किने अवस्था आइपुगेको छ ।




प्रतिक्रिया