राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् । उनले माघ २७ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते तीन बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने भन्ने व्यवस्था छ ।

यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ ।