काठमाण्डु- पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको नयाँ सरकार डेढ महिना नपुग्दै अस्थिरतातर्फ धकेलिएको छ । पुस १० गते प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेर सरकारमा सहभागि भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ४२ दिनमै सरकारबाट बाहिरिएको हो ।
रास्वपा बाहिरिएसँग प्रचण्ड नेतृत्वको सरकार डेढ महिना नपुग्दै अस्थिरतातर्फ धकेलिएको छ । रास्वपाले ४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा २० सीट जितेको थियो । त्यसपछि नयाँ सरकार गठन हुँदा सत्ता गठबन्धनबीच रास्वपालाई तिन मन्त्रालय दिने सहमति भयो ।
उक्त सहमति पछि गृहमन्त्रालयसहित रास्वपा सरकारमा सहभागि भएको थियो । नागरिकता विवादमा सर्वोच्च अदालतले १३ माघमा पार्टी सभापति रवि लामिछोको सांसद पद खारेज गरेको थियो । उनको पद खारेज भएपछि गृहमन्त्री र पार्टी सभापति पद पनि गुम्यो । लगत्तै १५ माघमा उनले पुनः नेपालको नागरिकता प्राप्त गरे ।
नागरिकता पुनः प्राप्त गरेपछि उनले आफूलाई पुनः गैरसांसदको रुपमा गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले भने रविको आग्रहलाई बेवास्था गरेपछि आइतबार रास्वपा सरकारबाट बाहिरिएको हो । यद्यपि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।
रविले पत्रकार सम्मेलनमा समर्थन कायमै रहे पनि विपक्षमा बस्ने बताएका हुन् । ‘समर्थन फिर्ता लिनासाथ सरकार ढल्ला । (संविधानको) एउटा धारा आकर्षित हुन्छ । हामी अस्थिरताको कारक होइनौं । अस्थिरताको कारक बन्न नचाहेककाले समर्थन दिइरहेका हौं । राष्ट्रपतिको चुनावमा कुनै निर्णयमा पुगेका छैनौं,’ लामिछानेले भने ।
रास्वपा सरकारबाट बाहिरिएसँगै प्रचण्ड सरकारको भविष्यमाथि नै प्रश्न खडा गरेको छ । अर्कोतर्फ पछिल्लो समय प्रचण्डलाई प्रधानमन्त्री बनाउन मुख्य भुमिका खेलेको अर्थात सरकारमा सहभागि दल मध्ये सबै भन्दा ठुल दल नेकपा एमाले नै प्रचण्डसँग रुष्ट बनेको छ ।
पुस १० गते भएको सहमतिबाट प्रधानमन्त्री प्रचण्ड पछि हटेपछि नेकपा एमाले रुष्ट बनेको हो । त्यसकारण प्रचण्ड सरकारको भविष्यमाथि नै प्रश्न खडा भएको छ । रास्वपा बाहिरिएपछि अब सरकारमा एमाले, माओवादी, राप्रपा र जनमत पार्टी सहभागि छन् ।




प्रतिक्रिया