३ वर्षमा चीनसँग निर्यात ३३ प्रतिशतले घट्यो, नाका खोल्न सरकार उदासिन


काठमाडौं – नेपालको चीनसँगको व्यापारघाटा उकालो लागिरहेकै समयमा चीन निकासी हुने सामानको परिमाण पनि घटेको छ। बढ्दो आयात र घट्दो निर्यातका कारण चीनसँगको व्यापार घाटा निरन्तर बढेको हो।

 

 

 

 

 

नेपालबाट यार्सागुम्वा, जडीवुटी, गलैंचा, कफी, चियालगायत सामान चीन जाने गरेको छ। २०७२ सालमा आएको भूकम्पले तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारघाटा निरन्तर बढ्दै गएको छ। आव २०७०/०७१ मा दुई अर्ब ५४ करोड रुपैयाँको सामान चीन गएको थियो। आव २०७३/०७४ मा यो मूल्य घटेर एक अर्ब ७० करोडमा झरेको छ।

 

 

 

नेपालको चीनसँग बढ्दो व्यापारघाटाका विषयमा चीनको चासो व्यवहारमा परिवर्तन हुन सकेको छैन। नेपालमा रहेको चिनियाँ दूतावासले दुई साता अघि एक कार्यक्रममा नेपालबाट चीन सामान नगएकोमा चिन्ता व्यक्त गरेको थियो। कार्यक्रममा सहभागी नेपाल निर्यात परिषद्का अध्यक्ष शुरेसकुमार श्रेष्ठले काउन्सिलरले नेपालबाट सामान नगएकामा चिन्ता व्यक्त गरेको बताए। उनले भने, ‘हामीले भन्नुपर्ने विषय उनीहरूले भने। नेपालबाट कसरी सामान चीन लैजान सकिन्छ भनेर चिन्ता गरे। नाका खुलाउने कुरा भएपछि भने बोल्दै बोलेनन्।’

 

 

 

 

 

नेपालले चीनबाट किन्नेभन्दा चीनलाई बेच्ने सामान कम भएकाले चालू आवको पहिलो चार महिनामा नेपाललाई ४२ अर्ब ३१ करोड रुपैयाँ व्यापार घाटा भएको छ। यो अवधिमा नेपालबाट चीन ६९ करोड ४० लाखको सामान मात्र गएको छ। चीनबाट ४३ अर्ब एक करोडको सामान आएको छ। नेपाललाई भारतपछि चीनबाट सबैभन्दा बढी व्यापार घाटा भएको छ।

 

 

 

 

गत साउनको अन्तिमसाता नेपाल भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालसँग चीनको व्यापार घाटा कम गर्न हस्तकला र जडीवुटीका सामान सहज रूपमा चीन जाने वातावरण बनाउने बताएका थिए। नेपालको व्यापारघाटाका विषयमा चीनका उच्च अधिकारीले चासो व्यक्त गरेको यो पहिलो पटक थियो।

 

 

 

अहिलेसम्म नेपाली हस्तकलाका सामान चीन जाने वातावरण नबनेको नेपाल हस्ताकला संघका अध्यक्ष धर्मराज शाक्य बताउँछन्। उनले भने, ‘उपप्रधानमन्त्री आएको समयमा व्यक्त प्रतिबद्धताअनुसारको काम अहिलेसम्म अगाडि बढेको छैन। हामीले अलिअलि सामान चीन पठाइरहेका छौं। व्यापार घाटा कम गर्ने हिसाबले सामान पठाउने विषय घोषणामा मात्र सीमित भएको छ।’

 

 

 

 

समस्या ‘अन्डर इन्भ्वाइस’

चीनसँगको व्यापारघाटा बढ्दै गए पनि अहिलेसम्म नेपालबाट चीन निर्यात हुने सामान भने बजार मूल्यभन्दा सस्तोमा जाने गरेको छ। नेपालमा रहेका चिनियाँ व्यापारीले नेपाली बजारमा किनेका कतिपय सामानको मूल्य स्थानीय बजारभन्दा निकै सस्तो हुने गरेको छ।

 

 

 

 

चालु आवको पहिलो ६ महिनामा नेपालबाट ४० किलो कफी सात हजार रुपैयाँमा चीन निकासी भएको। भन्सार विभागको तथ्यांकअनुसार यही अवधिमा एक लाख ४४ हजारमा ४८ किलो कफी फ्रान्स निर्यात भएको देखिन्छ। दुई देशको मूल्य तुलना गर्दा चीनमा एक सय ७५ रुपैयाँमा एक किलो कफी निर्यात भएको देखिन्छ। फ्रान्समा भने प्रतिकिलो तीन हजार रुपैयाँमा कफी निर्यात भएको छ।

 

 

 

 

 

नेपाली कफीको राम्रो बजार रहेको जापानमा भने सात सय ३३ रुपैयाँ प्रतिकिलोका हिसाबले एक हजार सात सय ८२ किलो कफी निर्यात भएको छ। कफी त एउटा उदाहरण मात्र हो। नेपालबाट चीन निर्यात हुँदै आएका सामानको मूल्य अरू देशमा निर्यात हुने सामानभन्दा निकै कम रहँदै आएको भन्सार विभागको तथ्यांकले देखाउँछ।

 

 

 

 

विभागको तथ्यांकअनुसार यही अवधिमा नेपालबाट चीनमा दुई हजार किलो हरियो चिया निर्यात भयो। दुई लाख ७२ हजार रुपैयाँमा निर्यात भएको हरियो चिया प्रतिकिलो एक सय ७२ मा चीन निर्यात भएको देखिन्छ। यही अवधिमा क्यानडा निर्यात भएको हरियो चियाको मूल्य भने नौ सय ११ रुपैयाँ प्रतिकिलो छ।

 

 

 

 

पछिल्लो समयमा चिया र कफीका अतिरिक्त कार्पेटले समेत चीनमा राम्रो बजार पाउन थालेको छ। चीन जाने कार्पेटको मूल्य पनि युरोप निकासी हुने कार्पेटको तुलनामा निकै कम देखिन्छ। नेपालबाट चालु आवको पहिलो चार महिनामा दुई हजार ६ सय ७५ वर्ग मिटरमा चीन कार्पेट निर्यात भएको देखिन्छ। यो अवधिमा डेनमार्क भने १५ हजार सात सय रुपैयाँ वर्ग मिटरमा कार्पेट निकासी भएको छ।

 

 

 

 

 

नेपालबाट चीन जाने प्रमुख जडीवुटीमा पर्ने यार्सागुम्वाको अवस्था पनि अरू सामानको जस्तै छ। यो अवधिमा नेपालबाट चीन एक लाख ८१ हजार रुपैयाँमा एक किलो यार्सागुम्वा निर्यात भएको देखिन्छ। जवकि यो अवधिमा हङकङ गएको यार्साको मूल्य पाँच लाख १२ हजार प्रतिकिलो छ। हङकङ १८ किलो यार्सागुम्वा नौ लाख ३२ हजार रुपैयाँमा निर्यात भएको देखिन्छ। जवकि बेलायतमा निर्यात भएको यार्सागुम्वाको मूल्य २६ लाख ५१ हजार प्रतिकिलो छ।

 

 

 

 

नेपाल हब्स एन्ड हर्बल्स प्रोडक्स एसोसियसनका अध्यक्ष गोविन्द घिमिरे चीन जाने सामानमा अन्डर इन्भ्वाइसको समस्या रहेको बताउँछन्। उनले भने, ‘अहिले चीनले क्वारेन्टाइनको समस्या निकालेपछि कतिपय सामान थाइल्यान्ड भएर चीन जाने गरेको छ। यार्सागुम्वामा चीनले कर लगाएपछि सुट्केसमा राखेर चिनियाँ व्यापारीले लैजाने गरेका छन्। यसले गर्दा नेपालबाट कम परमिाणमा सामान गएको देखिन्छ।’

 

 

 

 

छैन बाटो

नेपालबाट चीन जाने सहज नाका तातोपानी नाका बन्द भएको दुई वर्षभन्दा बढी भयो। २०७२ सालको भूकम्पपछि चीनले तातोपानी नाका बन्द गरेर केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्‍यो। पहाडी भूगोल मात्र भएर होइन केरुङदेखि सिगात्सेसम्मको बाटो हिउँदको समयमा हिउँपर्ने भएकाले अन्तर्राष्ट्रिय व्यापारका लागि सहज नभएको निर्यात प्रवद्र्धन परिषद्का अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले बताए।

 

 

 

 

नेपालबाट चीन जाने सामान अहिले भारतको कोलकाता बन्दरगाहको बाटोभएर जाने गरेको छ। सीधै जाने सम्भावना नभएकाले कोलकाता बन्दरगाहभएर चीन सामान पठाउँदा महँगो मात्र होइन समयमा पुग्दैन। अध्यक्ष श्रेष्ठले तातोपानी नाका बन्द भएपछि नेपालबाट चीन सामान खासै नगएको बताए। उनले भने, ‘एक वर्षपछि केरुङको बाटो सहज हुन्छ होला। त्यसपछि मात्र चीन जाने सामान बढ्ला। बाटो नभएका कारण एक वर्ष अगाडि चीनले चाहेर पनि हामीले सामान पठाउन सक्ने अवस्था छैन।’

 

 

 

 

फेड्रेसन अफ फरेस्ट वेस इन्डस्टिज एन्ड ट्रेड नेपालका अध्यक्ष श्यामसुन्दर ढकालले नेपालबाट चिनियाँ व्यापारीले काठ समेत लैजान खोजेको बताए। उनले भने, ‘हामीले पठाउन खोजेका छौं। उनीहरू किन्न तयार छन्। तर, सरकारले चासो दिएको छैन।’ ढकालको अनुभवमा पनि चीन सामान पठाउन बाटोका कारण समस्या छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement