काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गम्भीर मतभेदमा फसेको छ ।राप्रपा सम्मिलित सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् बैठकले फागुन १ गते ‘जनयुद्ध दिवस’ बनाउने निर्णय गरेपछि राप्रपामा विवाद चुलिएको हो ।
राप्रपा समेतको संलग्नतामा जनयुद्ध दिवस मनाइएपछि राप्रपाको समेत समर्थन देखिएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रचण्ड सरकारमा उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री छन् ।
सरकारमा सहभागी हुनुअघि आदर्शका कुरा गर्दै आएका लिङ्देनले जनयुद्ध दिवसलाई वैधानिकता दिने गरी मन्त्रिपरिषद्मा सहभागिता जनाउँदा पार्टीको छविमा धक्का लागेको भन्दै वरिष्ठ नेता पशुपति शमशेर जबरा पक्षले असन्तुष्टि व्यक्त गरेको छ ।
अर्काेतिर राष्ट्रपति निर्वाचनको सन्दर्भमा समेत राप्रपाभित्र मतभेद देखिएको छ । राप्रपाले गणतन्त्र र राष्ट्रपतिलाई स्वीकार नगर्ने तथा राजतन्त्र पुनर्बहालीको एजेन्डा बोकेकाले राष्ट्रपति चुनावमा मतदान गर्न नहुने तर्क नेता जबरा पक्षको रहेको छ भने अध्यक्ष लिङ्देन भने सरकार र गठबन्धनमा सहभागी भइसकेपछि गठबन्धनको अनुकूल हुने गरी राष्ट्रपति चुनावमा मतदान गर्नुपर्ने पक्षमा छन्
। उपप्रधानमन्त्री पद पाएपछि लिङ्देनले जनयुद्ध दिवस मनाएको र राष्ट्रपति संस्थालाई वैधानिकता दिन खोजेको बताउँदै अर्काे पक्षले राष्ट्रपति चुनावमा मतदान गर्नै नहुने अडान लिएको छ । पार्टीको एजेन्डा, स्वार्थ र भावनाभन्दा पनि अध्यक्ष लिङ्देन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वार्थअनुसार हिँडेको आरोप पनि पार्टीमा लागेको छ ।
‘उहाँ प्रचण्डको सरकारमा गएर जनयुद्ध दिवस मनाउन टुलुटुलु हेरेर बस्नुभयो । एमालेको पछाडि लाग्नुभयो, स्वतन्त्र नियन्त्रण गर्न सक्नुभएन,’ राप्रपाका एक नेताले भने, ‘राष्ट्रपति निर्वाचनमा भोट हाल्नु हुँदैन भन्ने पनि छ तर अध्यक्षले कुनै पनि हालतमा गठबन्धनको उम्मेदवारलाई हाल्नुपर्छ भन्नुभएको छ । यसले अन्तद्र्वन्द्व बढाउने देखिन्छ ।’
राप्रपाले राष्ट्रपति चुनावमा मतदान गरेमा पार्टी विभाजनको अवस्था समेत आउनसक्ने स्रोतले जनाएको छ । ‘सरकार र गठबन्धनमा सहभागी भयो भन्दैमा हाम्रा आधारभूत एजेन्डा नै कमजोर हुने काम गर्नु हुँदैन,’ स्रोतले भन्यो, ‘एजेन्डा नै कमजोर हुने र पार्टीको छवि नै बिग्रिने अवस्था भएमा सरकारमा बसिराख्नुपर्ने आवश्यक छैन । कसैले पनि पदका लागि एजेन्डा बेच्नु हुँदैन ।’
राप्रपामा पशुपति शमशेर जबरा, बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही लगायत नेताहरू एकातिर र अध्यक्ष लिङ्देन, प्रकाशचन्द्र लोहनी अर्कातिर देखिएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारमा गएपछि पूर्व राजा ज्ञानेन्द्र शाहले पनि लिङ्देनलाई पत्याउन छाडेको स्रोतको दाबी छ । लिङ्देनका कट्टर आलोचक दुर्गा प्रसाईंले आयोजना गरेको कार्यक्रममा ज्ञानेन्द्र शाह सहभागी हुनुले पनि राप्रपामा तरङ्ग छाएको छ । लिङ्देनले प्रसाईंको कार्यक्रममा नजान ज्ञानेन्द्रलाई सुझाव दिए पनि ज्ञानेन्द्र सहभागी भएका थिए । सोही कार्यक्रममा केशरबहादुर विष्टले लिङ्देनको आलोचना गरेका थिए ।




प्रतिक्रिया