काठमाण्डु- भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंह नेपालमा रहेको आशंका गरिएको छ । भारतीय दूतावासले उनी नेपालमा लुकेर बसेको हुनसक्ने आशंका गरेको हो ।
यसैबीच काठमाण्डुस्थित भारतीय दूतावासले अमृतपाललाई निगरानी सूचीमा राख्न अध्यागमन विभागलाई पत्र लेखेको थियो । आइतबार भारतीय दूतावासले पत्र पठाएपछि सोमबार उनलाई अध्यागमन विभागले ‘निगरानी सूची’मा समावेश गरेको छ ।
दूतावासले फोटोसहित अमृतपाललाई सूचीमा राखिदिन भन्दै अनुरोध गरेको विभागका महानिर्देशक झलकराम अधिकारीले बताएका छन् । सिंह भारतीय प्रहरीको फरार सूचीमा छन् ।
उनीमाथि ज्यान मार्ने उद्योग, कानुन कार्यान्वयनमा अवरोध पुर्याएको र अशान्ति मच्चाएको आरोप छ। भारतीय प्रहरीले खोजी गरिरहे पनि फेला पार्न नसकेपछि उनी छिमेकी देश खासगरी नेपालमा आएको हुनसक्ने आशंका बढेको हो ।
यता नेपाल प्रहरीले पनि यसबारे चासो राखेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रबक्ता पोषराज पोखरेलले अमृतपाल नेपालमा रहेको आशंकाबारे आफूहरुलाई आधिकारीकरुपमा कुनै जानकारी नआएको काठमाण्डुपाटीलाई बताए ।
तर, आधिकारीकरुपमा जानकारी नआएपनि कुनै पनि चोर, फटाहरु नेपाल छिरेको भएमा प्रहरीले पक्राउ गर्ने प्रबक्ता पोखरेलले दाबी गरे । नेपालमा लुकेर बसेको आशंका बढिरहेकोबेला प्रहरीको नजर अमृतपालको खाजिमा हुनेसमेत उनले बताएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार गत शनिबार पञ्जाबको जलन्धर जिल्लामा प्रहरीले उनलाई पक्रन अपरेशन चलाएका बेला उनी मोटरसाइकलमा भागेका थिए ।
को हुन् अमृतपाल ?
फरार रहेका सिंह पञ्जाव राज्यस्थित अमृतसर जिल्लाको जल्लुपुर खेडा गाउँका बासिन्दा हुन्। उनले केही समय दुबईमा काम गरेका थिए। त्यहाँबाट भारत आएपछि खालिस्तानी समर्थक दीप सिद्धुको संगठन ‘वारिस पंजाब दे’ मा जोडिएका हुन्।
दीप सिद्धुको हालै सड़क दुर्घटनामा मृत्यु भएको थियो। किसान आन्दोलनको बेला दिल्लीको लालकिल्लामा भएको हिंसात्मक घटनाको आरोप पनि उनीमाथि लागेको थियो।
इन्डिया टुडेको एक रिपोर्ट अनुसार सिद्धु खालिस्तान अभियान सञ्चालन गर्ने जर्नेल सिंह भिंडरावालेको समर्थक थिए। खालिस्तानी समर्थक अमृतपाल सिंह पनि अलग सिख राज्यको माग गर्दै आइरहेका छन्। उनी सिख धर्मको प्रचारका लागि अमृत सञ्चार अभियान चलाउँछन।
उनले पहिलो अमृत प्रचार अभियान राजस्थानको श्रीगंगानगरबाट सुरु गरेका थिए। धेरै स्थानमा आयोजित कार्यक्रममा अमृत ग्रहण गर्नेको संख्या सयौँ थियो। उनीहरु अमृत ग्रहणपछि खालसा सिखको हिस्सा बनेका थिए।
धेरैलाई सिंहले खालसा सिख बनाए। यसबीचमा उनले नसाविरोधी अभियान पनि चलाइरहेका थिए।




प्रतिक्रिया