काठमाण्डु लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
२०७८को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्याएका ४ वटा टावरहरुको पुननिर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याइएको हो ।
प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएसँगै करिब ३ सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ । नेपाल विद्युत प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो ।
टावरको पुनर्निर्माण सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा आएसँगै दोर्दी खोलामा निर्माण भएका निजी क्षेत्रका सबै जलविद्युत आयोजनाहरुको विद्युत् कीर्तिपुर सबस्टेसनमा जोडिएर दोर्दी करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह भएको आयोजना प्रमुख रमेश पौडेलले बताए ।
प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी खोला–१ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजना जोडिएका छन् । निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युतसहित त्यस करिडोरमा निर्माणाधीन र निर्माण हुने अन्य आयोजनाको विद्युत् यही लाइनमा जोडिने छ ।
उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमस्र्याङ्दी विद्युतगृहको स्वीचयार्डमा विद्युत् जोड्ने व्यवस्था गरिएको छ । यसका लागि निर्माणाधीन २२० केभीे मस्र्याङ्दी करिडोरको करिब ६ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको हाे ।
करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ । आयोजनाले नै कीर्तिपुरमा १३२ केभी, १० एमभिए क्षमताको सबस्टेसन निर्माण गरेको छ । २०७७ मै निर्माण सम्पन्न भएको प्रसारण लाइनका ४ वटा टावरहरु २०७८को असारमा असारमा दोर्दी खोलामा आएको बाढीले बगाइदिएको थियो । आयोजना २०७४ सालमा सुरु गरिएको थियो ।




प्रतिक्रिया