काठमाण्डु – पाकिस्तानमा पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक-ए-इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्।
कुरैशीलाई प्रहरीले बुधबार पक्राउ गरेको बीबीसीले जनाएको छ । पूर्वप्रधानमन्त्री इमरान खानपछि पीटीआईका नेताहरूलाई गिरफ्तार गर्न थालिएको हो ।
पक्राउ हुनुभन्दा अघि उनले एक भिडिओमा भनेका छन्, “मलाई गिरफ्तार गर्न प्रहरी आइपुगेको छ। म एउटा सन्देश दिन चाहन्छु। यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ। आज इमरान खान उनको नियन्त्रणमा छन् जसबाट उनको ज्यानलाई जोखिम छ।”
उनले समर्थकहरूलाई खान रिहा नभएसम्म आन्दोलन नरोक्न पनि भनेका छन्। यसअघि पाकिस्तानको सेनाले सैन्य अखडाहरू र सार्वजनिक सम्पत्तिहरूमा आक्रमण गर्नेहरू विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ।
पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएपछि जारी प्रदर्शनहरूमा उनका समर्थकहरू र सुरक्षा फौजहरूबीच झडप भएका र सरकारी भवनहरूमा आक्रमण गरिएकाे छ ।
राजधानी इस्लामावादमा एउटा प्रहरी चौकीमा आगजनी गरिएको छ। झडपमा कम्तीमा १० जनाकाे मृत्यु भएकाे छ । पन्जाब र खैबर पख्तुनख्वामा अमनचयन कायम गर्न सेना परिचालन गरिएको छ। खानलाई आठ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।




प्रतिक्रिया