काठमाण्डु – चिनियाँ जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई एमआरआई मेसिन हस्तान्तरण गरेको छ । बुधबार चीनका लागि नेपाली राजदूत छन सोङ् र प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए)का सदस्यले सैनिक अधिकृतलाई उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रमा पुर्याएको योगदानका लागि चीन सरकार तथा चिनियाँ जनमुक्ति सेनाप्रति नेपाली सेनाको तर्फबाट आभार प्रकट गरे ।
नेपाली जनता तथा चिनियाँ जनताहरुबीच रहँदै आएको युगौं पुरानो सुमधुर सम्बन्धका बारेमा उल्लेख गर्दै प्रधानसेनापतिले सन् २०१५ को विनासकारी भुकम्प पश्चातको उद्धार तथा पुन:निर्माण प्रयासहरुका साथै कोभिड-१९ महामारी विरुद्धका प्रयासहरुमा चीनबाट प्राप्त सहयोग नेपाली जनता तथा नेपाली सेनाका लागि स्मरणीय रहने कुरा बताए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै चिनियाँ राजदूत छन सोङ्ले नेपाल चीनको एक असल छिमेकीका रुपमा रहि आएको कुरा बताउँदै नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रको सुधारमा सहयोग गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे । उनले दुई देशका जनता तथा सरकारहरु बीचको सम्बन्ध सुमधुर रहेको तथा भविष्यमा पनि रहिरहने विश्वास समेत व्यक्त गरे ।
नेपाली सेनाले सन् २०११ मा पीएलएसँग गरेको सम्झौताअनुसार मेसिन प्राप्त भएको हो ।
वीरेन्द्र अस्पतालमा आज आयोजित कार्यक्रममा बलाधिकृत रथी, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु लगायत चिनियाँ राजदूतावासका पदाधिकारी एवं चिनियाँ सैनिक सहचारीको उपस्थिती रहेको थियो ।





प्रतिक्रिया