काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
बुधबार अपरान्ह सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको हो ।
पक्राउ परेका १६ जनासहित फरार रहेकाहरूलाई प्रतिवादी बनाएर ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी कीर्ते र एकिकृत कसुरको अभियोगमा मुद्दा दायर गरेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए । पक्राउ परेकाहरुविरुद्ध ५ वटा कसुरमा मुद्दा दर्ता गरिएको हाे।
अहिले प्रहरी हिरासतमा नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा छन्।
यस्तै केशव दुलाल, सानु भण्डारी र टंक गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।




प्रतिक्रिया