भारतीय पक्षले अनधिकृत रुपमा नेपाली भूमि जाँच गरेकोबारे छानबिन गर्न माग

भारतीय पक्षले अनधिकृत रुपमा नेपाली भूमि जाँच गरेकोबारे छानबिन गर्न माग


काठमाण्डु – सांसद ठाकुरप्रसाद गैरेले भारतले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्साङ्कन गरी अत्यन्तै गलत काम गरेको टिप्पणी गरेका छन्।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गैरेले आदिपुरुष सिनेमामा सीता भारतकी छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार प्रवाह गर्ने समेत गरेको भन्दै आपत्ति जनाए।

उनले भने, “सिनेमाका लेखकले नेपाल भारतकै अङ्ग हो भनेर अत्यन्त गलत अन्तर्वार्ता मार्फत अभिव्यक्ति दिइरहेका छन्, नेपाल सरकार के गर्दै छ ? के भारत सुघौली सन्धिबाट पछाडि हटेको हो ? सरकार स्पष्ट हुन जरुरी छ, यदि भारतले त्यसो गर्न खोजेको हो भने नेपालको रक्षाको निम्ति जुनसुकै मूल्य चुकाउन तयार छ।” नेपालको एक इन्च भूमि पनि कसैलाई सुम्पिन तयार नभएको भन्दै उनले मुलुकको लागि एकजुट हुनुपर्नेमा जोड दिए।

सांसद डोलप्रसाद अर्यालले भारतीय पक्षले भूमि अनधिकृत रुपमा नेपाली भूमि नाप जाँच गरेको विषयमाथि सत्य तथ्य छानबिन गर्न माग गरे। उनले भने, “असार १ गते भारतीय टोलीले इन्डियन नेशनल हाइवेयले सर्वे गर्ने भन्दै कञ्चनपुरको भुजेला गड्डाचौँकी हुँदै सुक्कासालसम्मको भू-भाग नाप जाँच गरेको छ, सर्वेका सामानसहित आएका ती प्रतिनिधि प्राविधिक नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षामा खटिएका सुरक्षाले भने सुइँकोसमेत पाएनन्, के उनीहरूलाई जागिर खानका लागि मात्रै सिमानामा खटाइएको हो ?”

सांसद तारा लामा तामाङले गए राति कोशी प्रदेशका विभिन्न जिल्लामा आएको बाढीका कारण २५ जना बेपत्ता भएको र धनजनको क्षतिप्रति दुःख व्यक्त गरिन्। उनले देशैभरका सामुदायिक विद्यालयका कर्मचारीको जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद डा. तोसिमा कार्कीले कालोबजारी मौलाउँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद दयालबहादुर शाहीले बाजुरा जिल्लामा भएको अविरल वर्षाका कारण त्यहाँका दलित समुदाय विस्थापित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसद दीलेन्द्रप्रसाद बडूले आन्दोलनरत शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए।

सांसद दीपकबहादुर सिंहले खडेरीका कारण किसानको अन्नबाली नाश भइरहेको उल्लेख गर्दै धानको बीउ लगाउने बेलामा मलको हाहाकार भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसद दामोदर पौडेल वैरागीले शिक्षा सेवा नियमावली जतिसक्दो चाँडो ल्याउन माग गरे।

सांसदहरु दुर्गा राई, दीपा शर्मा, पुष्पबहादुर शाह, पूर्णबहादुर घर्तीमगर, प्रतिमा गौतम, प्रतिक्षा तिवारी, धनबहादुर बुढा, ध्रुवबहादुर प्रधान, निशा डाँडी, प्रभु शाह, प्रमु हजारा दुसाद, प्रेमबहादुर महर्जन, प्रेम सुवाल, वासुदेव घिमिरे, विन्दावासिनी कङ्साकार, विनिता कठायत, नवलकिशोर शाह, नारायणप्रसाद आचार्य, नागिना यादव र नारायणी शर्माले नागरिकता, खानेपानी, बाढिपहिरो, अविरल वर्षा, यातायातलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।