काठमाण्डु – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । आगामी मङ्गलवार चार दिने भ्रमणको क्रममा गृहमन्त्री श्रेष्ठ चीन जान लागेका हुन् । श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीनको छेन्दु जाने तयारीमा छन् ।
चीनको छेन्दुमा हुने व्यापार मेलामा विशेष अतिथिको रूपमा सहभागी हुनका लागि उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेपनि भ्रमणको उद्देश्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको बातावरण मिलाउने रहेको स्रोतले जनाएको छ । श्रेष्ठ आफै पनि भारत भ्रमणका लागि अनौपचारिक च्यानलमा समेत कुराकानी गरिरहेका छन् ।
भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री प्रचण्डले आफू चिन भ्रमणमा पनि जाने बताएका थिए । ‘ म भारत भ्रमणमा गएपछि थुर्पै टिकाटिप्पणी भइरहेका छन् । मैले प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भनेको थिए, मेरो पहिलो भ्रमण भारत हुनसक्छ । अब परिस्थिति अनुसार मेरो पहिलो भ्रमण भारत भयो । अब चिन भ्रमणमा पनि जाने चाहना छ । समय मिल्यो भने अमेरिका पनि गइन्छ होला ।’, भारत भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनेका थिए ।
प्रचण्ड भदौ अगाडी नै चिन भ्रमण जान खोजिरहेका छन् । मंगलबार चिन जान लागेका श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको भ्रमण भदौ अगाडी नै भ्रमण गराउन पहल गर्ने बुझिएको छ । तर, भदौ अगाडी नै प्रचण्डको चिन भ्रमण हुने सम्भावना भने कम देखिन्छ । उनलाई चिनले भदौपछि मात्रै भ्रमणमा बोलाउने तयारी गरेको छ । काठमाण्डुस्थित चिनियां दूतावाससंग प्रधानमन्त्री दाहालको सचिवालयले भ्रमणको लागि पहल गरिरहेको छ । तर, सकरात्मक जवाफ नपाएको स्रोतको दावी छ ।
दाहाल नेतृत्वको सरकारको निरन्तरता हुनेमा बेइजिङ आश्वस्त नभएकोले पनि चिनियां पक्षले उनको भ्रमणमा चांसो नदिएको जानकारहरु बताउंछन् । सरकारको निरन्तरता हुने अवस्था आयो भने उनलाई बिआरआईसम्बन्धी बेइजिङमा हुने सम्मेलनमा बोलाउने तयारी छ । उक्त कार्यक्रममा १ सय २८ देशबाट सरकार प्रमुख र उच्च अधिकारीहरु सहभागी हुंदैछन् ।




प्रतिक्रिया