काठमाण्डु- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आवश्यक परेको खण्डमा कोशीमा मध्यावधि निर्वाचनमा जान सकिने बताएका छन् । बिहीबार प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली कांग्रेसले अहिलेको सरकारलाई विश्वासको मत भने नदिने र आवश्यक परे मध्यावधि निर्वाचनमा जान सकिने बताएका हुन् ।
‘मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं । त्यसका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच एक भएर अघि बढ्ने सहमति भएको छ । त्यसकारण हामीले विश्वासको मत दिदैनौँ । बरु प्रदेश मध्यावधिमा गयो भने फेस गरौंला । मध्यावधिमा जानु ठूलो कुरा भएन ।’, थापाले भने ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । थापाले आफुलाई विश्वासको मत दिन भन्दै विपक्षी दलहरलाई पत्र पठाएका छन् । कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साथ दिने भएको छ । उनलाई आफू नेतृत्वको सरकार टिकाउन एक मतको आवश्यक परेको छ ।
यहा एमालेका ४० र राप्रपाका ६ सांसद छन् । जसअनुसार हाल कार्कीको पक्षमा ४६ सांसद रहेका छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। यता विपक्षी दलका जम्मा संसदको संख्या ४७ रहेको छ । ४७ सांसदको संख्यामा सभामुख पनि पर्दछन् । यदि सभामुखलाई गणना नगर्ने हो भने विपक्षी दलका सांसदकाे सख्या पनि ४६ नै छ । जसमा कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद रहेका छन् । यदि सभामुखले साथ नदिएको खण्डमा विपक्षी दललाई पनि सरकार गठनकाे लागि बहुमत नपुग्ने स्पष्ट छ ।




प्रतिक्रिया