आयल निगमका पूर्वमहानिर्देशक गोपाल खड्का अकूत सम्पत्तिमा दोषी ठहर

आयल निगमका पूर्वमहानिर्देशक गोपाल खड्का अकूत सम्पत्तिमा दोषी ठहर

१५ महिना कैद र १८ करोडभन्दा बढी जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगमका तत्कालीन महानिर्देशक गोपालबहादुर खड्का अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् । शुक्रबार विशेष अदालतको तीन सदस्यीय इजलासले उनलाई दोषी ठहर्‍याउँदै सजाय सुनाएको हो ।

खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र १८ करोड रुपैयाँभन्दा बढी बिगो र जरिवाना तोकिएको छ । साथै उनको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीको नाममा भएका दुईवटा जग्गा जफत गर्न विशेष अदालतले आदेश दिएको छ ।

न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुशीप्रसाद थारुको इजलासले फैसला सुनाएको हो । फैसलामा ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोकिएको छ ।

खड्काले गैरकानूनी रुपमा १८ करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साल पुस १३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।