काठमाण्डु- सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। आज दिउँसो चार बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । उक्त बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफल हुने जनाइएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट शुक्रबार विश्वासको मत मागेका थिए । उनले विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको थियो । आइतबार मात्रै प्रदेश प्रमुख परशुराम खापुङले दलहरुलाई सरकार गठनका लागि आह्वान गरेका छन्।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नै नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। हालसम्म यहाँ कुन दलको नेतृत्वमा सरकार बन्छ रु भन्नेबारे अन्यौल छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट शुक्रबार विश्वासको मत माग्दा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा उनको पक्षमा उभिएको थियो ।
त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी विपक्षमा उभिदा जनता समाजवादी पार्टी जसपा भने तटस्थ बसेको थियो । हाल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने बताइरहेको छ । यसका लागि कांग्रेसले अन्य दलहरुसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।
यता केन्द्रमा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने दाबी गरिरहेको छ, भने नेकपा एसले पनि आफ्नो नेतृत्वमा सरकार गठन नहुने अडान राखेको छ । एमाले नेतृत्वको सरकार ढाल्न एकजुट भएका यी तिन दल नै नयाँ सरकार गठन प्रक्रियामा आ आफ्नो अडानमा छन् । त्यसकारण कोशीमा नयाँ सरकारबारे सहमती जुटाउन आज सत्ता गठबन्धन दलहरुको बैठक बस्न लागेको हाे ।




प्रतिक्रिया