प्रचण्डसँग आक्रोशित बनेका बाबुरामको योजना: मुद्दा मिल्नेसँग सहकार्य गर्दै समाजवादी ध्रुव निर्माण

प्रचण्डसँग आक्रोशित बनेका बाबुरामको योजना: मुद्दा मिल्नेसँग सहकार्य गर्दै समाजवादी ध्रुव निर्माण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल समाजवादी पार्टीले नीति, सिद्धान्त र विचार मिल्ने पार्टीसँग सहकार्यको लागि पहल गर्ने भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले मुद्दा मिल्ने पार्टीहरूसँग मोर्चा बनाएर अघि बढ्ने योजना बनाएको हो । हालै घोषणा भएको समाजवादी मोर्चामा नेसपालाई छुटाइएको थियो ।

बाबुराम भट्टराईले समाजवादी मोर्चा घोषणा गर्नुपर्ने भन्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर छलफल गरेका थिए । तर, अन्तिममा प्रधानमन्त्री प्रचण्डले बाबुरामलाई धोका दिए । उनले समाजवादी मोर्चा घोषणा गर्दा डा. भट्टराईलाई जानकारी समेत दिएनन् ।

समाजवादी मोर्चामा आफूलाई छुटाएपछि बाबुराम प्रचण्डप्रति आक्रोशित बनेका छन् । प्रधानमन्त्री प्रचण्डसँग आक्रोशित बनेका बाबुरामले मुद्दा मिल्ने पार्टीहरूसँग मोर्चा बनाएर अघि बढ्ने योजना बनाएका हुन् ।

मंगलबार नेसपाका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले विज्ञप्ति जारी गर्दै ले दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आम जनताबीच संगठन निर्माण गर्दै सडक, सदन र सरकार तीनवटै ठाउँबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले ‘संगठन निर्माण तथा विस्तार अभियान’ सञ्चालन गरिएको जनाएका छन् ।

‘अबको राष्ट्रको संकल्प नयाँ समाजवादी विकल्प’ भन्ने नाराका साथ पार्टीको केन्द्रीय कार्यकारिणी समितिले अभियानको नेतृत्व गर्ने र अभियान अवधिभरकालागि ‘केन्द्रीय अभियान परिचालन समिति’ र आवश्यक सचिवालय तथा उपसमितिहरू निर्माण गर्ने पनि उनले बताए । सो अभियान २०८० असारदेखि पुस मसान्तसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रेस विज्ञप्ति

“अबको राष्ट्रको संकल्प: नयाँ समाजवादी विकल्प”

नेपाल समाजवादी पार्टी

संगठन निर्माण तथा बिस्तार अभियान ‐२०८०

नेपाल समाजवादी पार्टी लोकतान्त्रीकरण तथा संघीयकरणका अधुरा कार्यभार पूरा गर्दै देशलाई सुशासन र समृद्धिको दिशामा अघि बढाउन चाहने सहभागितामूलक, समावेशी, समानुपातिक तथा प्रत्यक्ष लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । सामूहिक नेतृत्व प्रणालीमा आधारित आलोचनात्मक चेतसहितको अनुशासित र सिर्जनशील पार्टी हो । उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, वर्ण र समुदायको मुक्ति चाहने पार्टी हो । युवाहरुलाई स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारीको ग्यारेन्टी चाहने पार्टी हो । विकास, सुशासन र समृद्धिको नेतृत्व गर्न चाहने पार्टी हो । त्यसनिम्ति हाम्रो पार्टी ‘समुन्नत समाजवाद’ को आदर्श र मार्गदर्शनबाट अनुप्रेरित पार्टी हो । नयाँ अग्रगामी वैकल्पिक शक्ति निर्माणमा प्रतिवद्ध पार्टी हो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक तथा प्रत्यक्ष निर्वाचित संसद्, जातीय÷भाषिक पहिचानका आधारमा प्रदेशहरूको पुनः सीमांकन र नामांकन लगायतका संशोधन नभएसम्म राजनीतिक अस्थीरता र जनताको असन्तुष्टि कायम रहन्छ भन्ने कुरा अहिले व्यवहारतः पुष्टि हुँदै गइरहेछ । लोकतान्त्रिक राजनीतिक स्थीरताविना सुशासन र तीव्र आर्थिक–सामाजिक रूपान्तरण हुनै सक्दैन । मधेस प्रदेशबाहेक अरू सबै प्रदेशको नामाकरण पुरानै पञ्चायती अञ्चलहरूको जस्तो गरी भएको छ । प्रदेश नामाकरणको विषयलाइ लिएर १ नम्बर प्रदेशमा ठूलो आन्दोलन भैरहेको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारीको अभावले युवाहरुमा र आम जनतामा निराशा र असन्तुष्टि बढ्दै गइरहेछ । धमिलो पानीमा माछा मार्न पुनरुत्थानवादी शक्तिहरू संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा नै सल्बलाउन खोजिरहेछन् । वाह्य शक्तिहरु आफ्नो सामरिक स्वार्थ पूर्ति गर्न विभिन्न भेष र वहानामा हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप र घुसपैठ गरिहेछन् ।

यो स्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै जनताको सुशासन, समृद्धि र सामाजिक न्यायको आकांक्षा पूरा गर्नु र समुन्नत समाजवादको दिशामा अघि वढ्नु लोकतान्त्रिक, प्रगतिशील, समाजवादी शक्तिहरूको साझा दायित्व हो । परन्तु संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक रक्षा शासकीय स्वरूप र संघीयतामा आवश्यक सुधार, सुशासनको प्रत्याभूति, समानुपातिक समावेशी प्रतिनिधित्वको सही कार्यान्वयन र तीव्र आर्थिक विकासविना सम्भवै छैन । विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग, वर्ण समुदायका जनता र विशेषतः उदीयमान युवापुस्ताको बढ्दो आकांक्षा पूरा गरेर मात्र ठूलो बलिदानस्वरूप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आमजनताको अपनत्व स्थापित गर्न सकिन्छ । समुन्नत समाजवादको दिशामा अघि वढेर मात्र प्राप्त उपलब्धीको दिगो रक्षा गर्न सकिन्छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको निम्ति लडेका व्यक्ति र शक्तिहरूको नै क्रमशः स्खलन र भ्रष्टीकरण, व्यवस्था परिवर्तनपछि जनजीवनमा त्यसको अपेक्षित प्रतिफलको अभाव र क्रान्तिकारी आन्दोलनपछि हुर्केको युवापुस्तामा ऐतिहासिक क्रान्तिचेतको प्रवाहमा कमी जस्ता कमजोरीले पनि आज संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै अघि बढ्न कठिन भइरहेछ । तसर्थ, हजारौंको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी उपलब्धि प्राप्तिका लागि नयाँ युगको नयाँ विचार, नीति, कार्यक्रमका आधारमा एकताबद्ध भएर संघर्ष गर्दै जानु आजको मुख्य कार्यभार हो । प्राप्त राजनिितक उपलब्धिको जगमा टेकेर सामाजिक न्याय सहितको तीव्र विकास र समृद्धिको बाटोमा अघि बढन् अब ढिलाइ गर्नु हुँदैन । गणतन्त्र, लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिकताका निम्ति लडेका कतिपय नेताहरू भ्रष्टीकरण र निजी सत्तालिप्सा त्यागेर रुपान्तरण हुन जरुरी छ । समयले कसैलाइ पर्खदैन । समय निर्मम हुन्छ । पुराना शक्तिहरु रुपान्तरित नभए नयाँ वैकल्पिक शक्तिहरुको उदय अवश्यम्भावी छ ।

यस्तो बेला दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आम जनताबीच संगठन निर्माण गर्दै सडक, सदन र सरकार तीनवटै ठाउँबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले यो “संगठन निर्माण तथा बिस्तार अभियान” सञ्चालन गरिएको छ ।

१. अभियानको नाम: यस अभियानको नाम “संगठन निर्माण तथा बिस्तार अभियान” रहनेछ ।

२. अभियानको प्रमुख नारा: “अबको राष्ट्रको संकल्प: नयाँ समाजवादी विकल्प” रहनेछ ।

३. अभियानको नेतृत्व: अभियानको समग्र नेतृत्व ‘केन्द्रीय कार्यकारिणी समिति’ ले गर्नेछ । के.का.स.ले अभियान अवधिभरकालागि ‘केन्द्रीय अभियान परिचालन समिति’ र आवश्यक सचिवालय तथा उपसमितिहरु निर्माण गर्नेछ ।

४.अभियानको समयावधि: अभियान २०८० असार बाट सुरुभई पुस मसान्तसम्म सञ्चालन हुनेछ ।

५. अभियान सञ्चालन क्षेत्र: यस अभियान मुख्यतः स्थानीय तह (गाउँपालिका÷नगरपालिका) केन्द्रित हुनेछ । संघ र प्रदेश स्तरमा प्रचारात्मक, वैचारिक, व्यवस्थापकीय काम हुनेछन् ।

६. अभियानको उद्देश्य:

– पार्टीलाई वैचारिक रुपमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रुपमा स्थापित गर्ने ।

– पार्टी, नेता–कार्यकर्ताहरुको सैद्धान्तिक एवम् वैचारिक स्तर अभिवृद्धि गर्ने ।

– तत्कालिक जनसरोकारका विषय र निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली तथा पहिचान सहितको संघीयताको एजेण्डालाई सडक, सदन र सरकारमा सशक्त रुपमा उठाउने ।

– सबै स्थानीय तहसम्म संगठनात्मक सञ्जाल बिस्तार गर्ने ।

– विचार मुद्दा मिल्ने शक्तिहरुसँग संवाद, सहकार्य र ध्रुवीकरणको कामलाई अघि बढाउँदै प्रगतिशील, लोकतान्त्रिक, समाजवादी ध्रुव निर्माण गर्न पहल गर्ने । ।

७. अभियानको लक्ष्य:

क) वैचारिक/राजनीतिक:

– साउन मसान्तसम्म प्रदेश र असोज मसान्तसम्म जिल्ला र स्थानीय तहहरुको प्रशिक्षण सम्पन्न गर्ने । संघीय परिषद सदस्य, केन्द्रीय समिति सदस्य, केन्द्रीय निकायका सदस्यहरु, केन्द्रीय बिभागका सदस्यहरु, जनबर्गीय संगठनका सदस्यहरु, प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुनेछन ।

– केन्द्रीय प्रशिक्षण बिभागले कार्यक्रमको तालिका बनाई प्रशिक्षण गर्नेछ ।

– वैचारिक, राजनीतिक, संगठनात्मक उद्देश्य समेटिएको जनस्तरमा वितरण गर्न केन्द्रीय कार्यालयले पर्चा तथा अन्य प्रचार सामग्री तयार गर्नेछ ।

– जनस्तरवाट सुझाव ग्रहण गर्न र विशेषतः नयाँ पुस्तालाई वैचारिक– राजनीतिक दिशावोध गराउन सार्वजनिक वहस, छलफल, अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।

ख¬ संगठन

– पार्टी र जनवर्गीय संगठनहरुको सदस्यता वितरण र नवीकरण गर्ने ।

– सबै स्थानीय तहहरुमा कार्तिकसम्म पार्टी समितिहरु गठन, पुनर्गठन गर्ने ।

– श्रावण मसान्तभित्र केन्द्रीय बिभाग र आयोगहरुलाई पूर्णता दिने र क्रियाशील बनाउने । भाद्र मसान्तभित्र प्रदेशले बिभाग र आयोगहरु गठन र क्रियाशील बनाउने । जिल्लालगायतका स्थानीय तहले आवश्यक्तानुसार बिभाग गठन गर्न सक्ने ।

– सम्बन्धित पार्टी कमिटीहरुसँगको संयोजनमा जवसहरुले कमिटी गठन, पुर्नगठन गर्ने ।

– जिल्लासम्म प्रबिधिमैत्री कार्यालय स्थापना र सञ्चालन गर्ने ।

– मंसीर– पुसमा वडा र पालिकाहरुको भेला÷सम्मेलन गर्ने ।

ग) संयुक्त मोर्चा र ध्रुवीकरणः

– नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहहरुसँग सम्वाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्ने र मुद्दा मिल्ने पार्टीहरुसँग मोर्चा बनाउने ।

– अग्रगामी शक्तिहरुको वृहद् ध्रुवीकरण मार्फत देशमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्न प्रयत्नशील रहने ।

– अन्य पार्टीमा आबद्ध पहिचानसहितको सङ्घीयता, लोकतन्त्र र अग्रगमनका पक्षधर ब्यक्तिहरुलाई पार्टी प्रवेश गराउने, स्वतन्त्र रुपमा रहेका प्रतिष्ठित ब्यक्तिहरुलाई पार्टीमा आबद्ध गराउने ।

– ध्रुवीकृत ब्यक्ति, ब्यक्तित्व र नेतृत्वलाई आबश्यकता अनुसार बिभिन्न स्तरको अभियानमा जोड्ने ।

घ) जनसंघर्ष, जनपरिचालन र सभा

– राष्ट्रिय सरोकारका मुद्दामा दवावमूलक संघर्ष र जनपरिचालनका कार्यक्रम गर्ने ।

– संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख तथा पूर्ण समानुपातिक व्यवस्थापिका र पहिचान सहितको संघीयता निम्ति संविधान संशोधन गराउन सडक, सदन र सरकार तीनै ठाउँबाट दवावमूलक पहल लिने ।

– भ्रष्टाचार, अनियमितता, कमिसनखोरी, महंगी, कालाबजारी नियन्त्रणका लागि सक्रिय पहल र संघर्ष गर्ने ।

– जातपात, छुवाछुत, भेदभाव, अन्धविश्वास, विकृति, विसंगति, कुरीतिबिरुद्ध सशक्त जनअभियान संचालन गर्ने ।

– शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा आमूल सुधार र आम जनताको पहुँच सुनिश्चिततानिम्ति संघर्ष गर्ने ।

– विपद् व्यवस्थापन, स्थानीय पूर्वाधार निर्माण, सामाजिक सेवा, कृषिजन्य उत्पादन लगायतका क्षेत्रमा जनश्रमदान÷स्वंय सेवानिम्ति जनपरिचालन गर्ने ।

– पर्यावरणीय बिनाशबिरुद्ध वृक्षारोपण लगायत जनचेतनामूलक कार्यक्रमहरु गर्ने ।

– माथि उल्लेखित जनपरिचालनका लागि संघीय, प्रादेशिक र स्थानीय तहसम्म पार्टीका सबै जनसंगठनका प्रतिनिधिहरु राखेर जनपरिचालन समिति गठन गर्ने ।

८) कार्ययोजना निर्माण र सञ्चालन विधि:

– प्रदेशमा केन्द्रबाट तोकिएका प्रतिनिधि, प्रदेश र जिल्लाका इञ्चार्ज र अध्यक्ष साथै जनसंगठनका प्रदेश समिति अध्यक्ष, र मुख्य सचिव बसीे कार्ययोजना बनाई कार्यान्वयन गर्ने ।

– प्रवासका सबै जिल्लाहरुले नियमित संगठनात्मक कामका अतिरिक्त आ–आफ्नो सापेक्षतामा वैचारिक, राजनीतिक प्रचारात्मक र जनपरिचालनका काम गर्ने ।

९) कार्यालय तथा आर्थिक ब्यवस्थापन:

– निर्वाचन क्षेत्र, नगर समिति र वडाहरुमा आ–आफ्नै सापेक्षता र सुविधा अनुसारको सम्पर्क कार्यालय खोली सञ्चालन गर्ने ।

– जिल्लामा अध्यक्ष वा तोकिएको पदाधिकारीमध्ये १ जना र कार्यालय सचिव १ जना पूर्णकालीन अभियानको काम व्यवस्थित रुपमा सञ्चालन गर्ने ।

– प्रत्येक पार्टी सदस्यले अनिबार्य रुपमा लेवी बुझाउनु पर्ने । साथै आर्थिक हैसियत राम्रा भएका पार्टी समर्थक, शुभचिन्तक, बुद्धिजीवी, उद्यमी, ब्यवसायीहरुमध्ये मासिक रुपमा न्यूनतम रु. ५००÷– भन्दा बढी सहयोग गर्नसक्ने ब्यक्तिहरुको सूची बनाई सहयोग संकलन गर्ने ।

– केन्द्रीय आर्थिक बिभागले सहयोग रसिद छापी प्रदेशलाई पठाउने छ । प्रदेशले स्थानीय तहलाई रसिद उपलब्ध गराउने छ ।

१०) अभियानको नेतृत्व:

– यस अभियानको नेतृत्व पार्टी केन्द्रीय कार्यकारिणी समितिले निर्माण गरेको केन्द्रीय अभियान परिचालन समितिले गर्नेछ । अभियानको दैनिक कार्य सम्पादन र अभियानलाई छिटोछरितो, चुस्तदुरुस्त रुपमा सञ्चालन गर्ने काम अभियानको सचिवालयले गर्नेछ ।

– प्रदेशमा अभियानको संयोजन केन्द्रीय कार्यकारिणी सदस्यहरुले गर्नेछन् । अभियान संयोजक र सदस्यहरुले पार्टीका सम्बन्धित समितिहरुसँग समन्वय गरी काम गर्नुपर्नेछ ।

– जिल्ला र पालिकाहरुको अभियानको नेतृत्व केन्द्रीय सदस्य, संघीय परिषद सदस्य वा प्रदेश सदस्यले गर्नेछन् ।

११) कार्यबिभाजन

– अभियानभर सबै केन्द्रीय सदस्य, सङ्घीय परिषद् र केन्द्रीय निकायका सदस्यहरु स्थानीय तहमा जोडिएर काम गर्नुपर्नेछ । ठोस कार्यबिभाजन केन्द्रबाट जिम्मेवारी लिएर आएका केन्द्रीय कार्यकारिणी सदस्यहरुको संयोजनमा प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र जिल्ला समन्वय समितिको प्रतिनिधिहरुको उपस्थितिमा गरिनेछ ।

– एउटै जिल्ला, संघीय निर्वाचन क्षेत्र र महानगरपालिकामा धेरैजना केन्द्रीय वा सङ्घीय परिषद् सदस्य भएमा समझदारीमा छिमेकी जिल्ला, संघीय निर्वाचन क्षेत्र र महानगरपालिकामा कार्यबिभाजन गर्न सकिनेछ ।

– जुन जिल्ला, निर्वाचन क्षेत्र र महानगरपालिकामा केन्द्रीय वा सङ्घीय परिषद् सदस्य छैन, त्यहाँको नेतृत्व सम्बन्धित समितिको निर्णय अनुसार प्रदेश सदस्य वा प्रदेश परिषद् सदस्यले गर्नेेछ ।

– प्रदेश समितिहरुमा इन्चार्ज र अध्यक्षले आपसमा समन्वय गरी काम गर्नेछ ।

– यस अभियानमा पार्टी संगठन, जनसंगठन र पार्टीका सम्पूर्ण अवयवहरु सबै एकीकृत र केन्द्रीकृत रुपमा सञ्चालन हुनेछ ।

१२) विविध:

– केन्द्रीय कार्यकारिणीले अन्यत्र तोकिएका केन्द्रीय सदस्यभन्दा बाहेक अरु सबै केन्द्रीय सदस्यहरुले तोकिएको कार्यक्षेत्रमा गई अभियानमा सहभागी हुनुपर्नेछ ।

– केन्द्रबाट खटिएको अनुगमन टोलीले अनुगमन र मूल्यांकन प्रतिवेदन तयार गर्नेछ ।

( प्रदेश र स्थानीय तहमा प्रगतिशील सांस्कृतिक टोलीहरु निर्माण गरी परिचालन गर्ने ।

– छुट्टै क्ष्त् सेल बनाएर पार्टीको समग्र संरचना र कार्यशैलीलाई सूचना प्रविधिमैत्री बनाउने

१३) अभियन्ताहरुले पालना गर्नु पर्ने नियम र आचारसंहिता

१) आफ्नो कुरा अपीलको शैलीमा राखौं ।

२) छोटो र मीठो बोलौँ । घोचपेच नगरौं ।

३) समयको पालना गरौं । तोकिएको समयमा बैठक, कार्यक्रम शुरु गरौं ।

४) आसनग्रहण र सम्बोधनमा कम समय खर्च गरौं ।

५) तार्किक बनौं, तथ्यमा विश्वास गरौँ ।

६) भाग्यमा होईन कर्ममा विश्वास गरौँ ।

७) अध्ययनशील, मेहनती, र सक्रिय बनौँ ।

८) पार्टीभित्र छलछाम, षड्यन्त्र र गुटबन्दी नगरौँ ।

९) परम्पराको नाममा अन्धविश्वासमाथि होइन, नयाँ ज्ञान, विज्ञानमा विश्वास गरौं ।

१०) जात, लिंग, बर्ग, क्षेत्र, पेशा, शिक्षा, भाषा र धर्मको आधारमा कसैको अपमान नगरौं ।

११) श्रम संस्कृतिको निर्माण गरौँ र सबैखाले श्रमको उच्च सम्मान गरौँ ।

१२) भ्रष्टचार र व्यभिचारबाट टाढै बसौँ ।

१३) पदलाई पुरस्कार होइन, जिम्मेवारीको रुपमा ग्रहण गरौँ ।

१४) नेतृत्वको देवत्वकरण होइन, सामूहिक नेतृत्वको विकास गरौं ।

१५) निषेध र सम्झौता होइन, एकता–संघर्ष रुपान्तरणको विधि पालना गरौँ ।

१६) परिणाममुखी काम गरौँ । आफ्नो कामको व्यवस्थित रिपोर्ट बनाउने र बुझाउने गरौँ ।

१४) नाराहरुः

– न पुँजीवाद, न साम्यवाद – अबको विकल्प समुन्नत समाजवाद !

– सम्पूर्ण प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरु एक हौँ !

– संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौैँ !

– प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर !

– पहिचान सहितको संघीयता लागु गर !

– देश लुट्ने भ्रष्टचारीलाई जन्मकैद गर !

– युवाहरु के भन्छन् ? – स्वदेशमै रोजगारी दे भन्छन् !

– विद्यार्थीहरु के भन्छन् ? – गुणस्तरीय शिक्षा दे भन्छन् !

– किसानहरु के भन्छन् ? – समयमै मल–वीउ दे भन्छन्÷फसलको उचित मूल्य दे भन्छन् !

– मजदूरहरु के भन्छन् ? – उचित ज्याला÷ सामाजिक सुरक्षा दे भन्छन् !

– महिलाहरु के भन्छन् ? –वरावरी अधिकार दे भन्छन् !

– दलितहरु के भन्छन् ? – छुवाछुत अन्त्य गर् भन्छन् !