घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली

घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर – जल, जमिन र जङ्गलमा आश्रित चितवनको माडीका बोटे समुदाय अहिले आफ्नो घरबास (होमस्टे) मा आउने पाहुनालाई स्वागत गर्न व्यस्त छन् । बोटे समुदायको पुर्खौली पेसा खोलामा माछा मार्ने र डुङ्गा चलाउने भए पनि अहिले घरबास सञ्चालन गरेर जीवनशैली परिवर्तन गरिरहेका छन् । माडी नगरपालिका–१ वनकट्टा बोटे टोलमा आउने पर्यटकलाई यहाँका बोटे समुदायले आफ्नो संस्कृतिअनुसार ‘बिन्ती बाटी’ (मान्यजन तथा पाहुनालाई गरिने सम्मान) गरेर पाहुनालाई स्वागत गर्दछन् । घरबास सञ्चालन गरेपछि उनीहरुलाई बिन्ती बाटीसँगै बोटे होमस्टेमा आउने पाहुनाको स्वागत गर्न भ्याइनभ्याई छ ।

माडी नगरपालिका–१ की रीताले बोटे हिजोआज कामका लागि खोलानाला र वनजङ्गल जानु नपरेको बताए । घरबासमा आउने पाहुनाको स्वागत, सत्कार र मीठा परिकार बनाउने काममा दैनिकी बित्ने गरेको भन्दै उनले अब दुःखका दिन क्रमशः हट्दै गएको बताइन् । “गुजारा चलाउनका लागि माछा मार्न जाने, जङ्गलमा घाँस–दाउरा खोज्ने र निहुरो टिप्ने काम गर्नुपथ्र्यो”, उनले भनिन्, “आर्थिक अभावका कारण परिवारसहितको जीवन चलाउन धौ–धौ थियो, घरबास सञ्चालनमा आएपछि अहिले जीविकोपार्जनमा सहज भएको छ ।”

रीताको मात्र होइन गाउँका अन्य महिलाको पनि अहिले घरबासको व्यवस्थापन र पाहुनाको स्वागतसत्कारमा दैनिकी बित्ने गरेको छ । बोटे टोलका फुलमाया बोटेले घरबास सञ्चालनबाट आएको रकमले जीवनमा परिवर्तन ल्याएको बताइन् । “यहाँबाट हुने आयआर्जनले छोराछोरीलाई विद्यालय पढाउने, घरव्यवहार चलाउनेलगायत काममा खर्च गर्न धेरै सजिलो भएको छ”, उनले भनिन् ।

बोटे सामुदायिक होमस्टेका कोषाध्यक्ष जगनारायण बोटेले विसं २०७५ मा निर्माण सुरु गरेर विसं २०७७ देखि घरबास सञ्चालनमा ल्याएको बताइन् । “चितवन राष्ट्रिय निकुञ्जले जनचेतनामूलक कार्यक्रम गरेपछि घरबास निर्माणमा लागेका हौँ”, उनले भनिन्, “पहिला वन्यजन्तुबाट पीडित बनेका हामी अहिले वन्यजन्तु देखाएर पर्यटक भित्र्याउने गरेका छौँ ।” उनले निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत दिगो जीविकोपार्जनसम्बन्धी तालिम लिएको घरबास सञ्चालन गरिएको जानकारी दिए ।

माडीको रिउ नदी तरेपछि मूल सडकको सेरुवा गेटबाट एक हजार पाँच सय मिटरको दूरीमा पश्चिमतर्फ लागेपछि बोटे सामुदायिक घरबास पुगिन्छ । घरबास बनाउन माडी नगरपालिका, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, तराई भूपरिधि कार्यक्रम (ताल) ले आर्थिक सहयोग गरेका छन् । रू १० लाखभन्दा बढी खर्च गरेर सुविधासम्पन्न दुईकोठे होमस्टे बनाइएको छ । सो क्षेत्रमा १२ वटा होमस्टे सञ्चालित छन् ।

यहाँका होमस्टेमा एक रातमा ६० जनासम्म अटाउने कोषाध्यक्ष जगनारायणले जानकारी दिए । उनका अनुसार यहाँ आउने पाहुनालाई हाँसका विभिन्न परिकारका साथै स्थानीय उत्पादन साग, निहुरोको तरकारी, माछाको आचार, घोंगी, बाँसको तामाको चोखाजस्ता स्थानीय र आफ्नो जातिसँग जोडिएका परिकार खुवाउने गर्दछन् ।