टक खाती काठमाण्डु- डडेल्धुराको आलितालमा बिहीबार मृत फेला परेकी नन्दा साउदले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आलिताल गाउँपालिका– ७, खिन्नेभाडीकी २० वर्षीया साउद आज बिहान मृत फेला परेकी थिइन ।
दुर्गा मावि आलितालको कक्षा १२ मा अध्यनरत साउद घरनजिकैको पहिरोमा मृत फेला परेकी हुन् । घरनजिकै ५ सय मिटर परको पहिरोमा नन्दाको शव खसेको अवस्थामा बिहान साढे ६ बजे फेला परेको थियो । उनी हिजो रातिदेखि घरबाट हराएकी थिइन् । रातभरि खोज्दा बिहान मात्रै पहिरोमा खसेको अवस्थामा शव फेला परेको हो ।
त्यसपछि इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गंगादत्त बडूसहित प्रहरीको टोली घटनास्थलसम्म पुगेको थियो । प्रहरी निरीक्षक बडूले २० वर्षीया साउदले भिरबाट हाम फालेको अनुसन्धानबाट खुलेकाे बताएका छन् ।
त्यस्तै बुधबारमात्रै छिमेकी युवतीसँग झगडा परेको भन्ने जानकारी मिलेको बडुले बताए । ‘ती युवतीले भीरबाट हाम फालेको अनुसन्धानबाट देखिएको छ । त्यसको अघिल्लो दिन चाहीँ एउटा लेडिजसँग झगडा भएको रहेछ । अहिलेसम्म यति नै भेटाएका छौँ । अनुसन्धान जारी नै छ।’, उनले भने ।
यता आलिताल गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले पनि आत्महत्या गर्नुभन्दा एक दिनअघि एक जना युवतीसँग झगडा परेको बताए । नन्दालाई ती युवतीले दुईचार थप्पड पनि हानेको अध्यक्ष शेरसिंहले जानकारी दिएका छन् । ‘आत्महत्या गर्नुभन्दा एक दिनअघि एक जना युवतीसँग झगडा परेको भन्नेछ । ती युवतीले नन्दालाई दुईचार थप्पड पनि हानेको रहेछ । अब हालसम्म मलाई यति नै जानकारी मिलेको छ ।’, उनले भने ।
त्यस्तै उनले आफू निर्वाचित भएको समयदेखि अर्थात एक वर्षको अवधिमा आलिताल गाउँपालिकामा १० जनाले आत्महत्या गरेको बताए । ‘म निर्वाचित भएको समयदेखि १० जनाले आत्महत्या गरिसकेका छन् । आत्महत्या गर्नेमा चाहीँ किशोरा अवस्थाका नै छन् । सानो सानो कुरामा पनि आत्महत्या गरेको देखिन्छ । यसलाई रोक्नको लागि हामीले अब एउटा टोली नै बनाएर गाउँ गाउँमा साक्षरता अभियान चलाउने तयारीमा छौँ ।’, अध्यक्ष पार्कीले भने ।




प्रतिक्रिया