सडक संञ्जालले जोड्यो बझाङ –बाजुरा


राजेन्द्र बहादुर सिंह  

 

बझाङ – सुदुरपश्चिमका पहाडी जिल्ला बझाङ र बाजुराबिच यस वर्ष सडक संजालले जोडिएको छ । सडक संजाल जोडिएपछि दुवै जिल्लाका स्थानीयहरुमा खुसीयाली छाएको छ । बझाङको खप्तडछान्ना गाउँपालिका र बाजुराको खप्तड क्षेणेदह  गाउँपालिकालाई लक्षित गरी सडक जोडिएपछि दुवै जिल्लाका स्थानीयहरुमा खुसीयाली छाएको हो ।

 

बझाङ र बाजुराको सीमानामापर्ने डोगडी, थामलेक,गडराय हुदै सेती लोकमार्ग सम्म सडक जोडिंदा बाजुराको बुढीगंगा, खप्तड क्षेणेदह गाउँपालिका र बझाङको खप्तडछान्ना गाउँपालिका हुंदै जयपृथ्वी राजमार्गसम्म सवारी आवागमनमा सहज भएको छ ।

 

 सडक जोडिएपछि आवागमन तथा मालसामान ओसारपसारमा सजिलो हुनुका साथै छिमेकी जिल्ला बझाङ र बाजुराबिच थप सम्बन्ध पनि जोडिएको छ । सडक बनेपछि बाजुरा जिल्लाबाट आलु ,फापर, कोदो, मकै लगायतका खाद्यान्न र तरकारी सहज रुपमा बझाङसम्म पुग्ने गरेको र बझाङबाट लत्ताकपडा, र दाल चामलहरु बाजुरा पुग्नेगरेको स्थानीयहरु ब्ताउंछन् । दुवै छिमेकी जिल्लाबिच सडक संजाल जोडिएपछि विगत झै ३ दिन पैदल हिडेर भारी बोक्नुपर्ने अवस्था आजकाल नरहेको बाजुराको खप्तडक्षेणेदह गाउँपालिका ४ डोगडी गाउंकी मिरा बुढाले बताइन् ।

 

बझाङको तमैलबजार देखि बाजुराको खप्तडक्षणेदह गाउंपालिकासम्म जीप, मिनिट्रक ,ट्रयाक्टर र मोटरसाईकल लगायतका सवारी साधनहरु नियमित रुपमा चल्ने गरेका छन् । दुवै जिल्लाबाट सवारी आवागमन नियमित हुन थालेपछि बझाङका थामलेख गडराय कालुखेती र बाजुराका डोगडी, क्षणेदह लगायतका स्थानीय बजारहरुमा आजकाल ब्यापार–ब्यवसाय निकै बढ्न थालेको स्थानीयहरु बताउंछन् ।

 

एसियाली विकास वैंक (एडीपी), ग्रामीण विकेन्द्रीत पूर्वाधार परियोजना (डीलीप)को आर्थिक सहयोग तथा  स्थानीयबासीको सक्रियतामा बझाङ–बाजुरा सडक निर्माण भएको हो ।
बझाङको तमैल बजार देखि बाजुराको क्षणेदह गाउँपालिका सम्म करिव २७ किलोमिटर कच्चीसडक निर्माण भई दुवै जिल्लाबिच सहज रुपमा सवारी आवागमन भइरहेको छ । सडक जोडिएसंगै बझाङ र बाजुरा जिल्लाका अधिकांश गाउँपालिकाहरुमा सहज रुपमा मालसामान आपूर्ति हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement