काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताहरुलाई फोटो खिच्दा सचेत रहेर खिच्न आग्रह गरेका छन् । सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा लामासँग माओवादीका उपमहासचिव वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्तीले खिचाएको फाेटाे सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
फोटोसँगै यस प्रकरणमा उनीहरूको संलग्नता भएको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । सुन तस्करी प्रकरणमा पार्टीका शीर्ष नेताहरूको नाम मुछिनुका साथै र उक्त फोटो भाइरल भएपछि प्रधानमन्त्री प्रचण्डले नेताहरूलाई विभिन्न व्यक्तिहरूसँग गर्ने भेटघाटमा सचेत बन्न सुझाएका हुन् ।
‘विभिन्न मान्छेहरूसँग भेटघाट हुन्छ । तर, उनीहरूसँग भेटघाट गर्दा, तस्बिर खिचाउँदा ख्याल गर्नुहोला । हाल भाइरल भइरहेको तस्बिरलाई लिएर अहिले अनुसन्धान नै प्रभावित गर्ने गरी प्रचार हुँदैछ ।’, सोमबार बिहान बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले भने । यता माओवादी उपमहासचिव पुनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पार्टी कार्यकर्ता अमला रोकासंग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भईसकेको तस्बिरलाई आफुसंग जोडेर गरिएको प्रचारप्रति गम्भीर आपत्ति रहेको जनाएका छन् ।
उनले सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गलत प्रचार गरिएको भन्दै सुन तस्करीको निस्पक्ष छानविनको पूर्णरूपमा समर्थन गर्ने बताएका छन् ।




प्रतिक्रिया