कोशीमा बहुमत जुटाउन सभामुखबाट राजीनामा दिएका बाबुरामलाई मन्त्री उपहार

कोशीमा बहुमत जुटाउन सभामुखबाट राजीनामा दिएका बाबुरामलाई मन्त्री उपहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशी प्रदेशको सभामुखबाट मंगलबार राजिनामा दिएका बाबुराम गौतमले फेरी अर्को पद पाउने भएका छन् । उद्धव थापालाई गत २१ असारमा मुख्यमन्त्री बनाउँदा हस्ताक्षर गरेर बहुमत जुटाइदिएपछि विवादमा आएका बाबुरामले मंगलबार सभामुखको पदबाट राजिनामा दिएका थिए ।

सर्वोच्चले थापाको मुख्यमन्त्री पद खारेज गरेपछि सत्तारुढ गठबन्धनबाटै पुनः सत्तारोहण गरेका थापाको मन्त्रिमण्डललाई बहुमत जुटाइदिन बाबुरामले सभामुखबाट राजीनामा दिएका हुन् । सत्ता गठबन्धनले नयाँ सरकार गठनका लागि बहुमत पुगाउन बाबुरामलाई सभामुखबाट राजीनामा दिन लगाएको हो ।

गौतमले सभामुखबाट राजीनामा दिनासाथ गठबन्धनलाई हालका लागि चाहिएको ४७ संख्याको सिट ढुक्कले पुगेको छ। सरकार गठनमा बहुमत जुटाउन मुख्य भुमिका खेलेका गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री उपहार दिने भएको छ।

थापा नेतृत्वको सरकारमा बाबुरामलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी नेकपा माओवादी केन्द्रको छ । सभामुखको राजीनामा गराएर बहुमत जुटाएपछि मंगलबार नियुक्त मुख्यमन्त्री थापाले आज साँझ ५ बजे पद तथा गोपनियतको सपथ लिँदै छन्।