यस्ता छन् माओवादी केन्द्रीय कमिटी बैठकका निर्णय

यस्ता छन् माओवादी केन्द्रीय कमिटी बैठकका निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक समापन भएको छ । काठमाण्डुस्थित प्रज्ञाभवनमा पाँचदिनदेखि चलेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार समापन भएको हो ।

बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले अभियान भाद्र १६ गतेदेखि सुरु भइ तिन महिनासम्म चल्ने बताए। उनले यस अभियानका क्रममा पार्टीको नेता तथा कार्यकताहरु जनताको घरदैलोमा जाने र पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन र केन्द्रीय कमिटी बैठकको मर्मलाई जनतासमक्ष सम्प्रेषण गर्ने बताए।

अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ७ प्रदेशको ७ वटा वडामा जाने र सबै पदाधिकारीहरुले कम्तिमा एउटा वडा जिम्मा लिने निर्णय भएको उनले बताए। उनले भने,‘३ महिने अभियान सुरु भयो । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान भन्ने नारा छ । ३ महिना हुन्छ अभियान । भाद्र १६ गते यसको उदघाटन हुन्छ । विशेष गरी अभियानमा जनताको घर–घरमा जाने, आठौँ राष्ट्रिय महाधिवेशनको मर्मलाई राख्ने । केन्द्रीय कमिटीको मर्मलाई राख्ने । प्रचार सामाग्री राख्ने । अभियानका लागि दस्तावेज तयार गरेका छौँ । त्यो एउटा बुकलेटमा तयार गरेर अभियानमा लागिन्छ । अभियानमा अध्यक्ष ७ प्रदेशको ७ वडामा जानुहुन्छ । सबै पदाधिकारीहरुले कम्तिमा एउटा वडा लिने हामीले सोचेका छौँ ।’

त्यसैगरी बैठकले नेताहरुको कार्यविभाजन पनि गरेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको काम हेर्ने निर्णय भएको छ । गृहमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सरकारको कामको साथै प्रवास प्रदेशको पनि जिम्मेवारी दिइएको उपाध्यक्ष महराले जानकारी दिए।

त्यसैगरी उपाध्यक्ष कृष्णबहादुर महरालाई समाजवादी मोर्चा र पार्टी एकता, अग्नि प्रसाद सापकोटालाई प्रचार विभाग तथा प्रवक्ताको जिम्मेवारी दिइएको छ । जनवर्गिय संगठनको इन्चार्ज पम्फा भुसाललाई दिइएको छ । जनवर्गिय संगठनमध्ये शिक्षक, कर्मचारी, प्राध्यापक र सांस्कृतिक क्षेत्रको इन्चार्ज भने दिनानाथ शर्मालाई दिइएको छ ।

बैठकले सबै प्रदेशहरुमा इन्चार्ज तोकेको छ । जसअनुसार कोशी प्रदेशमा चन्द्रप्रकाश खनाल(बलदेव), मधेश प्रदेशमा लिलामणि पोखरेल, बागमतीमा जर्नादन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मात्रिका यादव, सुदुरपश्चिममा डिलाराम आचार्यलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तैगरी प्रवासमा नारायणकाजी श्रेष्ठ र पार्थ क्षेत्री, विशेष प्रदेशमा वर्षमान पुन र सम्पर्क समन्वय प्रदेशमा पार्थ क्षेत्रीलाई जिम्मेवारी दिइएको उपाध्यक्ष महराको भनाई छ । बैठकले २५ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।

‘घेराबन्दी भइरहेको छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् । १७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइतबार अध्यक्ष प्रचण्डले माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको बताएका हुन् ।

माओवादी केन्द्र र नेतृत्वमाथि घेराबन्दी भइरहेको र नेताहरुलाई जेलसमेत हाल्ने कुरा भइरहेको भन्दै उनले यसप्रति सचेत हुनुपर्ने बताए ।

नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्रविरुद्ध महाअभियोग

प्रचण्डले पार्टी नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजिएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेको बताएका छन् । प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण जबराविरुद्ध महाअभियोग दर्ता गर्नुपरेको बताएका हुन् ।

आफ्नो पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी भइरहेको भन्दै उनले यस्ता षड्यन्त्र परास्त गर्न अन्य राजनीतिक दलले पनि सहयोग गरेको जानकारी दिए । जसअनुसार जबराविरुद्ध महाअभियोग दर्ता गरेको र यसमा अन्य राजनीतिक दलले सहयोग गरेको उनको भनाइ छ ।

माओवादी केन्द्र र नेताहरुमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता रहेको भन्दै उनले जारी केन्द्रीय समिति बैठकबाट भने पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको बताए ।

१ फागुन २०७८ मा माओवादी, कांग्रेस, एकीकृत समाजवादीसहित तत्कालीन पाँच दलीय गठबन्धनका ९८ जना सांसदको समर्थनसहित तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गरिएको थियो । महाअभियोग लगाउँदा जबराविरुद्ध २१ बुँदे आरोप लगाइएको थियो । जबरा गत २७ मंसिर २०७९ मा अवकाश पाएका जबराले आफूविरुद्धको महाअभियोगको अवस्था स्पष्ट नहुँदा निवृत्तिभरणलगायतका सुविधाबाट बन्चित बनेका छन् ।