पक्राउ पुर्जी जारी भएपछि पूर्वमन्त्री जोशीले भने- मेरो कुनै संलग्नता छैन, अनुसन्धानमा सघाउँछु

पक्राउ पुर्जी जारी भएपछि पूर्वमन्त्री जोशीले भने- मेरो कुनै संलग्नता छैन, अनुसन्धानमा सघाउँछु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्वभूमि सुधारमन्त्री चन्द्रदेव जोशीले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् ।त्यसबखत आफू मन्त्री पदमै नरहेको बताउदैँ उनले अनुसन्धानमा सघाउँने उनको भनाइ छ ।

‘वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा मेरो पुरै समर्थन छ । देशमा नासुरको रुपमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो । लगतार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ । अनुसन्धान निकायलाई मेरो पूरा सहयोग रहनेछ ।

तर समाचार माध्यमहरुमा आए अनुसार २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्री परिषदमा निर्णय हुँदा म मन्त्री पदमा थिईँन । मन्त्रिपदबाट मैले त्यसअघि नै असोज ४ गतेको मितिमा राजीनामा गरिसकेको थिएँ । म २०६९ जेठ ३ देखि असोज ४ गते सम्ममात्र तत्कालिन बाबुराम भट्टराई मन्त्रिपरिषदमा रहेको हुँ । म पछि तत्कालिन मन्त्रिपरिषदका अर्का सदस्य टोपबहादुर रायमाझीले मैले सम्हाल्दै आएको मन्त्रालय सम्हालेको जानकारी त्यसबखत पाएको हुँ । त्यसपछि मन्त्रिपरिषदको समाजिक समितिमा प्रस्ताव जाँदा समेत म मन्त्री पदमा थिइन । मैले मन्त्री पद छाडेपश्चात भएको कुनै पनि निर्णयबारे मलाई जानकारी छैन । पछिल्लो समय समाचार माध्यम नै मेरो जानकारीका श्रोत भएका छन् ।

यसअघि पनि पटक पटक जानकारी दिए अनुसार नै आदालतको दोस्रो ताकेता पछि अदालतको आदेश नमान्दा मानहानी गरिएको हुने अवस्था आएपछि लियाजो एजेन्सीको मन्त्रीका रुपमा मेरो मार्फत निर्णकालागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान मैले सहमति मात्र दिएको हो । सो सम्बन्धी निर्णय प्रकृयामा मेरो कुनै सहभागिता छैन । जे जसो भए पनि अनुसन्धान निकायले गर्ने छानबिनलाई मेरो पूरा सहयोग रहने छ ।’, पूर्वमन्त्री जोशीले फेसबुकमा लेखेका छन् ।