काठमाण्डु- सुन तस्करी प्रकरणमा नाम मुछिएपछि राहुल महराले एकोहोरो आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको बताएका छन् ।
पूर्व सभामुख कृष्णबहादुर महराका छोरासमेत रहेका राहुल महराले सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमले एकोहोरो आरोप लगाएर चरित्र हत्या गरि राजनीतिक जीवन नै सिध्याउन खोजेको आरोप लगाएका हुन् ।
राज्यको निकायले अनुसन्धान गरिरहेकाले आफूले अनुसन्धानमा पूर्ण रुपमा सहयोग गर्ने बताउँदै उनले सञ्चारमाध्यम आफै न्यायालय बन्न खोजेको जिकिर गरे । कोही व्यक्तिसँग सम्पर्क हुँदैमा अपराधमा संलग्न नहुने उनको भनाइ छ ।
‘हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्यममा बारम्बार आइरहेका आरोपहरूप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौँ। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भर्त्सना गर्दछौँ। सञ्चारमाध्यमले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबरजस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । सञ्चारमाध्यमबाट एकोहरो आक्रमण हुनु को पछाडि हामीले बुझ्न सकेका छैनौ । राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्ण रूपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौँ र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौँ ।’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।




प्रतिक्रिया