विराटनगर – कोशी प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारमाथि प्रश्न उठाउने सांसदलाई नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जवाफ दिएका छन् ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै भण्डारीले उपसभामुखले महत्त्वपूर्ण ढंगले भूमिका निर्वाह गरिरहेको दाबी गरे ।
‘उपसभामुखले १३ गते कटाइदिन्छु भन्नुभएन नि ! बिरामी भएर चुपचाप हस्पिटल गएर बस्नुभएन नि !’ उनले भने, ‘अध्यक्षता गर्ने सांसद तोकेर जानुभयो । सभामुखले प्रयोग गर्ने सबै अधिकार प्रयोग गर्ने मार्गप्रशस्त गर्नुभयो । अस्पताल भर्ना भएको फोटो मैले हेरें । उपसभामुखको स्वास्थ्य संवेदनशीलतामाथि अनुचित टिप्पणी उपयुक्त छ कि छैन ? यी सारा शब्द फिर्ता लिनुहुन्छ ? माफी माग्नुहुन्छ ? स्वास्थ्य संवेदनशीलतामाथि हल्का टिप्पणी उचित हुँदैन ।’ यसअघि बोल्ने सत्तारुढ दलका सांसदले उपसभामुख दनुवारको आलोचना गर्दै प्रश्न गरेका थिए ।
प्रमुख सचेतक भण्डारीले अगाडि भने, ‘नाटक मञ्चन, नाटक मञ्चन आज भयो कि हिजो भयो ? सभामुख हुँदाहुँदै तपाईं त सांसद हो भनेर हस्ताक्षर गराइयो । मैले भनेको हो ? सर्वाेच्च अदालतले भनेको हो । प्रारम्भदेखि नै बदरयोग्य छ भन्यो ।’
मुख्यमन्त्री थापाले विश्वासको मत माग्ने आजको दिनलाई सत्तारुढ पक्षले ऐतिहासिक भनिएकोप्रति पनि उनले प्रश्न गरे । उनले भने, ‘कसरी ऐतिहासिक दिन हो ? यसै प्रदेश सभामा तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले शुरूमा विश्वासको मत पाउनुभयो, त्यो ऐतिहासिक दिन भएन, उहाँलाई असार १५ गते विश्वासको मत प्राप्त भएन, त्यो दिन ऐतिहासिक भएन । आज विश्वासको मत प्राप्त हुन्छ कि हुँदैन ? निर्क्यौल छैन । आजको दिन कसरी ऐतिहासिक भयो ? कुन उद्देश्यका साथ ऐतिहासिक भनियो ?’




प्रतिक्रिया