काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल व्यवस्थापनका लागि स्वनियमन र सचेतनालाई आधार बनाउने बताएकी छन् ।
मिडिया एड्भोकेसी ग्रूप (म्याग) द्वारा आयोजित ‘डिजिटल हिंसालाई सम्बोधन गर्ने कानुन निर्माणः चुनौती र समाधान’ विषयक अन्तर्क्रियाका अवसरमा मन्त्री शर्माले मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने गरी कानून निर्माण गरिरहेको जानकारी दिइन् । यसका लागि महत्त्वपूर्ण आधार स्वनियमन र सचेतनालाई मानिएको उनको भनाइ छ ।
‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यदल बनाएर यो काम गरिरहेका छौं,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा पनि स्वनियमन र सचेतनामै जोड दिनु उपयुक्त देखिएको छ ।’
प्रयोगकर्ता र सामाजिक सञ्जाल सञ्चालन गर्ने माध्यमले स्वनियमन गर्ने, त्यसका लागि व्यापक साइबर सचेतना जागृत गर्ने र त्यति गर्दा पनि सामाजिक सञ्जालबाट समाजका विभिन्न तप्काले हिंसा महसूस गर्ने सामग्री प्रकाशन प्रसारण भएमा कानूनी कारबाहीको बाटोमा जाने विधि नै उपयुक्त हुने उनले स्पष्ट पारिन् ।
‘सामाजिक सञ्जालमा के गर्न हुन्छ र के गर्न हुँदैन, के गर्दा कुन कानूनअनुसार के सजाय हुन्छ भन्ने विषय धेरैलाई थाहा नभएको देखियो,’ उनले भनिन्, ‘कसैले जानीजानी अपराध गर्छ भने ऊ सजायको भागिदार हुनैपर्छ तर थाहा नभएर गल्ती गर्ने अवस्था आउन नदिन स्वनियमन र सचेतनामै जोड दिनुपर्छ भन्ने लागेको छ ।’
साइबर सुरक्षा र साइबर शिक्षा प्राथमिकताको क्षेत्र भएको उल्लेख गर्दै सरकारी, गैरसरकारी, निजी क्षेत्र, सञ्चारमाध्यम सबैले यसमा ध्यान दिनुपर्ने मन्त्री शर्माले बताइन् । उनले अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश नपारी नियमनका लागि कानून बनाउने बताइन् ।
‘सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन ऐन नै आवश्यक भएको महसूस छ,’ उनले भनिन्, ‘तर ऐन आजको आजै सम्भव छैन, त्यसैले ऐनको पनि तयारी गर्दै जाने र तत्कालका लागि निर्देशिका वा नियमवाली जारी गर्ने तयारी भएको छ, सम्भवतः यो महिनाभित्र हामीले यसको तयारी पूरा गर्छौं ।’




प्रतिक्रिया