धरान प्रकरणको सुरुआतमा सरकार रमिते, घटना बल्झिएपछि निषेध !

धरान प्रकरणको सुरुआतमा सरकार रमिते, घटना बल्झिएपछि निषेध !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनसरीको धरान उपमहानगरपालिकामा धार्मिक असहिष्णुता फैलिँदै गइरहेका बेला सरकारी पक्षबाट रोकथामको कुनै प्रयास भएन । मन्दिर नजिकै चर्च स्थापना गरिएको विषय होस् वा गोरु काटेर मासुको भोज खाएको प्रचारप्रसार गरेको विषय होस्, यी विषय सामाजिक सञ्जालका कार्यसूची मात्रै बने, सरकारको कार्यसूचीमा परेनन् ।

पछिल्लो संसद् बैठकमा केही सांसदहरूले गोरुको मासु खाएको विषयमा कुरा उठाए तर सरकारले कुनै कदम चालेन । संसद्देखि जनस्तरसम्म गोरु हत्यामा संलग्नलाई कारवाही हुनुपर्ने माग भइरहेको छ तर सरकारले सुनेको छैन ।

सरकार एकैपल्ट निषेधको स्थितिमा पुग्यो, जतिबेला हिन्दूवादी संघसंस्थाले सद्भाव र्‍याली गर्ने तयारी गरे । गौ संरक्षणका लागि सद्भाव र्‍याली गर्न खोज्नेमाथि सरकारले निषेधादेश लाद्यो तर गोरु हत्या गर्नेलाई के गरिरहेको छ ? पत्तोपत्तो छैन । धरानका मेयर हर्क साम्पाङका अभिव्यक्ति समेत धार्मिक सहिष्णुताका विषयमा विवादित हुने गरेका थिए ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को पशुपन्छी सम्बन्धी कसूरको दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन भनी उल्लेख छ । उपदफा २ मा उपदफा १ बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद हुने उल्लेख छ भने उपदफा ३ मा गाईगोरुलाई कुटी अंगभंग भएमा निजलाई ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

गत साउन ९ गते गोरुको मासुसहित धरानबाट पक्राउ परेका विन्दाकुमार राई र राजकुमार परियार रिहा भएको अवसरमा फेरि केही संघसंस्थाले गोरुको मासु काटेर भोज गरेको आरोप छ । गोरु हत्या सरकारवादी फौजदारी अपराध भएकाले सरकार सक्रिय हुनुपर्नेमा रमिते बनेको आक्रोश हिन्दूवादी संघसंस्थामा छ ।

गोरु हत्याविरुद्ध संसद हुँदा सडकसम्म आवाज

नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै धरानमा सार्वजनिक रूपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ मागेका थिए । उनले सरकारलाई सोधेका थिए, ‘धरानमा गोरु काट्नेलाई किन कारबाही नगरेको ?’

उनले भनेका थिए, ‘धरानमा सार्वजनिक रूपमा गोरु काटेर आपसी सद्भाव भड्काएर धार्मिक हिंसा गराउन खोजिँदैछ । नेपाल बहुधार्मिक मुलुक हो । यहाँ सबै धर्मका मानिस मिलेर बसेका छन् । गाईगोरु काटेर यहाँ जातीय सद्भाव खल्बलाउने प्रयास भएको छ । सनातन धर्मलाई कमजोर बनाउने र आस्थामा चोट पुर्‍याउने काम भएको छ । अतिवादीहरूले द्वन्द्व सिर्जना गराउने काम गर्दैछन् । यस्ता अराजक तत्वहरूलाई गृह मन्त्रालयले कारबाही गर्नुपर्छ । वैदिक सनातन धर्मको अपमान गर्ने तथा हिन्दू धर्मविरुद्ध खुलेआम गतिविधि भइरहेका छन् ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्ता नचाहिने काम कसैले गर्न नहुने बताए । बिहीवार संसद् बैठकबाट बाहिरिँदै गर्दा ओलीले भने, ‘यसलाई धेरै सेन्सेटिभ बनाउनु हुँदैन । यो राम्रो कुरा होइन । अनेक प्रकारले नेपाली समाजलाई भाँड्ने, भड्काउने र द्वन्द्वमा फसाउने षड्यन्त्र भइराखेको छ । यस्ता कुराहरूबाट नेपाली समाज सजग हुनुपर्छ । यस्ता नचाहिने खालका क्रियाकलाप कसैले पनि गर्नु हुँदैन ।’

राप्रपाले प्रेस विज्ञप्ति जारी गरेर धरानमा सार्वजनिक रूपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद् भएको जनाएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘आपसी एकता, सद्भाव र धार्मिक सहिष्णुता नेपालको पहिचान हो । सदियौंदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रस्ट छ । उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

सरकारको ध्यानाकर्षण गोरु हत्या हुँदासम्म भएन । जब हिन्दूवादीले सद्भाव र्‍याली गर्ने तयारी गरे, तब सरकारले धरानमा निषेधाज्ञा जारी गर्‍यो । शनिवारका लागि पूर्व निर्धारित र्‍याली हुन नदिन सरकारले शुक्रवार मध्यराति १२ बजेदेखि शनिवार मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाले धरानभित्र र्‍याली नभए पनि बाहिरी इटहरी क्षेत्रमा हिन्दू धर्मावलम्बीले शान्तिपूर्ण र्‍याली र प्रदर्शन गरिरहेका छन् ।

हिन्दू धर्मका संघसंगठन र धर्मगुरुहरूको नेतृत्वमा भएको र्‍यालीमा गोवंश तथा स्वधर्म संरक्षणको आवाज उठाइएको छ । र्‍यालीमा ‘गौमाताको सम्मानमा, आऔं सबै मैदानमा’ ‘मरे बलिदान बाँचे स्वभिमान, गौ संरक्षण हाम्रो अभियान’ लगायतका नारा लगाइएको छ ।

यसअघि शुक्रवार धरानका क्रियाशील राजनीतिक दलले शनिवारको र्‍यालीको कार्यक्रम स्थगित गर्न अपिल गरेका थिए । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले समेत धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खल्बलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न सम्बद्ध सबै पक्षलाई आयोगले अपिल गरेको छ ।

वार्ताको माध्यमबाट एकआपसमा देखिएका विमतिमा समाधान खोज्न आयोगले सबै पक्षलाई आग्रह गरेको छ । धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र हिन्दू मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले शनिवार र्‍याली निकाल्ने तयारी गरिरहँदा साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटना रोक्न सबै भेला तथा कार्यक्रमहरू रोकिएको आयोगले अनुगमनको क्रममा बुझेको जनाइएको छ ।