काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा रहेको सोह्रौं राष्ट्रिय पुस्तकालय दिवस २०८० मूल आयोजक समितिले दिवसलाई रचनात्मक रूपमा मनाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गरेको छ ।
गत साउन २२ गते गठित समितिले ‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्य तय गरी दिवसको तयारीलाई तीव्र बनाएको छ ।
मन्त्रालयका उपसचिव, पुस्तकालय समन्वय तथा अभिलेख शाखाका प्रमुख एवं मूल समारोह समितिका सदस्य सचिव यादवचन्द्र निरौलाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई दिवस मनाउन पत्राचार गरिएको बताए ।
केन्द्रस्तरमा काठमाडौंमा हुने दिवसको मूल समारोह समितिको आयोजनामा शिक्षामन्त्री अशोककुमार राईको उपस्थितिमा सम्मान, पुरस्कार वितरण र स्मारिका लोकार्पण लगायतका कार्यक्रम गरिनेछन् । पुस्तकालयकर्मी, अभियानकर्मी, कर्मचारी र उत्कृष्ट पाठकलाई सम्मान र पुरस्कृत गर्ने कार्यक्रम रहेको उनले बताए ।
हाल नेपालमा शैक्षिक पुस्तकालय, राष्ट्रिय पुस्तकालय र विशेष पुस्तकालयका अतिरिक्त ९२८ सार्वजनिक पुस्तकालय छन् । प्रमुख निरौलाले हरेक उमेर समूह वा व्यक्तिका लागि पुस्तकालयमा कुनै भेदभाव नभई सबैको संगमस्थलका रूपमा यसलाई लिइने भएकाले यस वर्षको आदर्श वाक्य ‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ तय गरिएको जानकारी दिए ।




प्रतिक्रिया