काठमाण्डु – बलात्कारको आरोपमा प्रहरी निगरानीमा रहेका अधिवक्ता भोजबहादुर केसीको तर्फबाट सर्वाेच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ ।
शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ ।
बलात्कारको आरोपमा केसीलाई पक्राउ गर्न प्रहरी वृत्त थानकोटले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनलाई पक्राउ गर्न प्रहरी घरमा पुगेपछि उनी बेहोस भएर ढलेका थिए । प्रहरीले पक्राउ गर्न नपाउँदै केसी बेहोस भएपछि उनलाई उपचारका लागि मनमोहन मुटुरोग अस्पताल लगिएको थियो ।
त्यसपछि केसीले सहयोगी शरन मिजारमार्फत् सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । आफूलाई पक्राउ पुर्जी पनि नदिई नियन्त्रणमा राखिएको भन्दै केसीले रिट दायर गरेपछि तत्कालीन कायममुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भदौ ३ गते कारण देखाऊ र बन्दीसहित उपस्थित हुने आदेश दिएका थिए ।
अब रिट खारेज भएसँगै केसीलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुलेको छ ।




प्रतिक्रिया