वीरगञ्ज बाल सुधारगृहबाट दुईजना बालकैदी फरार

वीरगञ्ज बाल सुधारगृहबाट दुईजना बालकैदी फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज – वीरगन्जस्थित बाल सुधारगृहबाट आज दुई बाल कैदीबन्दी फरार भएका छन् ।

कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधारगृहको छतबाट हामफालेर फरार भएका हुन् ।

दुवै अभियुक्तलाई अदालतले दोषी ठहर गरेपछि आचरण सुधारका लागि बाल सुधारमा राखिएको थियो । फरार दुवैजनाको खोजी भइरहेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

क्षमताभन्दा बढी बाल कैदीबन्दी भएकाले मधेस प्रदेशको एकमात्र सुधार गृहमा यतिबेला समस्या सिर्जना भएको छ।न्यून भौतिक पूर्वाधार, बजेटको अभाव, सरकारी उदासिनता र क्षमताभन्दा बढी बालक र किशोरहरू कोचेर राख्नुपर्ने बाध्यताका कारण सुधारगृह समस्यामा परेको हो ।

साठी जनाको क्षमता भएको सुधारगृहमा हाल दोब्बरभन्दा बढी १२६ बालक तथा किशोरलाई कोचेर राखिएकाले बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै सुधारगृह व्यवस्थापनमा समेत कठिनाइ भइरहेको त्यहाँका प्रमुख टीकाकृष्ण काफ्लेले बताए।

ठाउँ अभावका कारण सो गृहमा बालबालिका उकुसमुकुसका साथ दैनिक जिवन बिताउन बाध्य छन् । एउटै कोठाभित्र धेरै जना कोचर बस्नु पर्दा स्थ्यलगायत अन्य समस्या भइरहेको गृहमा रहेकाहरूको गुनासो थियो । धेरै मान्छे कोचाकोच गरी बस्दा अक्सिजनको मात्रा घटेर कतिपयमा खुट्टा सुनिने र श्वासप्रश्वासको समस्या हुने गरेको गृहमा कार्यरत स्टाफनर्स अन्जु कुमारीले बताइन्।

“बिरामी पर्नेलाई पहिला हामी गृहभित्रै उपचार गर्छाैँ”, उनले भने, “समस्या बढ्दै गएपछि थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लैजान्छौँ । जाडो याममा भन्दा गर्मी याममा स्वास्थ्य समस्या बढी हुन्छ ।”

बालबालिकाको मुद्दा अधिकतम एक सय २० दिनमा फैसला गरिनुपर्ने व्यवस्था ऐनमा रहे पनि लामो समयसम्म फैसला नहुँदा सुधार गृहमा क्षमताभन्दा बढी बालक तथा किशोर रहेको प्रमुख काफ्लेले बताउनुभयो ।

कुल आश्रितमध्ये डेढ दर्जनको मात्रै मुद्दा फैसला भएको र बाँकी पुर्पक्षमै रहेको उहाँको भनाइ थियो । काठमाडौँ र पोखरामा रहेका बाल सुधारगृहमा विद्यालय र अस्पतालको पनि सुविधा भए पनि यो गृहमा त्यस्तो सुविधा नभएकाले समस्या भइरहेको प्रमुख काफ्लेले बताउनुभयो ।